तत्कालीन एमाले र माओवादी केन्द्रबीचको एकता भंग हुने गरी सर्वोच्च अदालतले फैसला सुनाएपछि ओली गठबन्धन सरकारको प्रधानमन्त्रीमा परिणत भएका छन् । माओवादी केन्द्रले समर्थन फिर्ता लिनेबित्तिकै ओलीले विश्वासको मत हासिल गर्नुपर्ने अवस्था आउँछ । तर, भावी सरकारलाई लिएर कांग्रेस अझै पर्ख र हेरको रणनीतिमा छ । कांग्रेसको दृष्टि ‘चाँडो चुनाव’मा छ ।
विभाजित नेकपाका दुवै समूहले नयाँ सरकार बनाउन अफर गरे पनि कांग्रेसले विभाजनको आधिकारिकता खोज्दै त्यसबारे निर्णय लिन सकेको थिएन । अदालतले नेकपाको एकता नै भंग गरिदिएपछि पनि कांग्रेस आफ्नो भूमिकामा प्रस्ट भइसकेको छैन । चाँडो चुनावको विकल्प सारेका कांग्रेस नेताहरू चुनावी सरकारको नेतृत्वबारे पनि मौन छन् ।
कांग्रेसले प्रतिनिधिसभा पुनर्स्थापनापछिको राजनीतिक घटनाक्रमको विषयलाई अहिलेसम्म केन्द्रीय समितिमा लगेको छैन । सत्ता समीकरणका अफरबारे शीर्ष नेताहरूसँग मात्रै छलफल गरेका देउवाले नेकपा एकता भंग भएपछि पदाधिकारी बैठक पनि बोलाएका छैनन् ।
सभापति देउवाका विश्वासपात्र मानिने केन्द्रीय सदस्य रमेश लेखक नेकपाको एकता भंग भएपछि पनि कांग्रेसले एमाले र माओवादीकै गतिविधि नियालिरहेको बताए । ‘संसदमा ६४ प्रतिशत मत भएको पार्टीले पनि देशलाई स्थिरता दिन सकेको अवस्था रहेन । अब कम्युनिस्टहरूको झगडा संसदमा छिरेको छ । यो संसद्ले न स्थिरता दिन सक्छ, न कुनै निर्णय गर्न सक्छ,’ लेखकले भने, ‘त्यसैले अब देश शीघ्र निर्वाचनबाट ताजा जनादेश लिने बाटोमा अघि बढ्छ ।’ तर, उनले कसको नेतृत्वको सरकारले निर्वाचन गराउने भन्नेबारे भने बोल्न चाहेनन् ।‘ ओली वा अरू भन्नेबारे अहिले नबोलौँ, यो विकसित घटनाक्रमले देखाउने कुरा हो, तर संसद्लाई अनिर्णयको बन्दी बनाउनुहुन्न, शीघ्र निर्वाचनका लागि मार्गप्रशस्त गर्नुपर्छ,’ उनले भने ।
केन्द्रीय सदस्य डा. शेखर कोइरालाले पनि नेकपाको एकता भंग भएपछि अब ढिलो–चाँडो देश चुनावको बाटोमा अघि बढेको बताए । ‘नेकपाको एकता भंग भएको छ । अब माओवादी केन्द्रले विश्वासको मत फिर्ता लियो भने प्रधानमन्त्रीजीले पुनः संसदमा विश्वासको मत लिनुपर्ने हुन्छ, तर त्यो पाउने अवस्था म देख्दिनँ,’ कोइरालाले भने, ‘अल्पमतको सरकारले देश चलाउन सक्दैन । निकासका लागि निर्वाचन नै उपयुक्त विकल्प हो ।’
नेता कोइराला प्रधानमन्त्री ओलीसँग अब दुईवटा विकल्प भएको देख्छन्– पहिलो, माओवादी केन्द्रसँगको गठबन्धनलाई निरन्तरता दिने, र दोस्रो, विश्वासको मत लिने । ‘मेरो विचारमा माओवादी केन्द्रले अहिले विश्वासको मत फिर्ता लिन्छ, ओलीले विश्वासको मत लिनैपर्छ, अल्पमतको सरकारले शासन गर्न मिल्दैन,’ उनले भने, ‘त्यो अवस्थामा कांग्रेस वा जनता समाजवादी पार्टीको समर्थन लिने उहाँको प्रयास हुन सक्छ, तर तत्काल मैले त्यो सम्भावना पनि देखेको छैन ।’
नेता कोइराला कांग्रेस, माओवादी केन्द्र र जसपाको गठबन्धन सरकारको पनि वैधानिकतामा प्रश्न गर्छन् । नेता कोइरालाले कांग्रेस संसद्को विपक्षी दल भएको नाताले पनि ओलीलाई विश्वासको मत दिन नमिल्ने बताए ।नयाँ पत्रिकाबाट































प्रतिक्रिया