नेपालमा मिर्गौला रोगका बिरामीहरू दिनहुँ बढिरहेका छन् । उच्च रक्तचाप, खानपानमा लापरबाही, नियमित स्वास्थ्य परीक्षण नगर्ने बानीले गर्दा मानिसको मिर्गौलाले काम नगर्ने भएको चिकित्सकहरुको भनाइ छ। स्वास्थ्यमा ध्यान नदिँदा मिर्गौला खराब भएको पत्तै नहुने र पछि अवस्था जटिल बनिसकेपछि मात्र मानिसहरू स्वास्थ्य संस्थामा जाने गर्नाले समस्या उत्पन्न भएको हो। नेपालमा वर्षेनी तीन हजार पाँच सय जनाको मिर्गौला खराब हुने गरेको अनुमान गरिएको छ।
वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा. पुकारचन्द्र श्रेष्ठले पछिल्लो समय सानै उमेरमा पनि मिर्गौला खराब हुने गरेको बताए। डा. श्रेष्ठले आफ्नो स्वास्थ्यमा खराबी आउनुभन्दा पहिले अस्पताल गई परीक्षण गरेमा मिर्गौला रोगबाट बच्न सकिने जानकारी दिए। तर मानिसहरू आफ्नो स्वास्थ्यको हेरचाह नगरी स्वास्थ्य अवस्था बिग्रिसकेपछि मात्र मिर्गौला रोगको उपचारमा आउने गरेको उनको भनाइ छ ।
वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा.श्रेष्ठले बालबालिकाहरूले पनि वर्षको एक पटक मिर्गौला परीक्षण गर्दा रोग लागे नलागेको थाहा हुने बताए।
सिन्धुपाल्चोककी सुनिता केसी (नाम परिवर्तन) भक्तपुरको क्याम्पसमा स्नातकोत्तर तहमा अध्ययन गर्थिन। बुबा एक विद्यालयमा सुरक्षा गार्डको जागिर गर्ने भएकोले आर्थिक अवस्था त्यति राम्रो थिएन। त्यसैले उनले साना कक्षाका विद्यार्थीहरुलाई ट्युसन पढाएर आफ्नो कलेज खर्च धानेकी थिइन् । २२ वर्षीया सुनितालाई केही महिना अघि मात्र अत्याधिक टाउको दुख्ने, आँखा दुख्ने समस्या देखापर्यो । खप्न नसकेपछि भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय अङ्ग प्रत्यारोपण केन्द्रमा स्वास्थ्य परीक्षण गराउँदा मिर्गौला खराब भएको पाइयो। केही दिन त उनले आँखा पनि देखिनन् । अहिले उनी नियमित डाइलासिसमै छिन् । आर्थिक अवस्था कमजोर भएका कारण ट्युसन पढाएर पढाइ खर्च धानेकी सुनितालाई डायलासिस धान्न पनि कठिन छ ।
सुनिता जस्ता सानै उमेरमा धेरै मानिसको यसरी नै मिर्गौला खराब भइरहेको छ । रक्तचाप मात्र नियमित परीक्षण गरिदिएको भए पनि मिर्गौला बचाउन सकिने चिकित्सकहरुको भनाइ छ। नियमित मिर्गौलाको परीक्षण गर्न पिसाबमा क्रिटिनाईनको मात्रा हेरे पुग्छ। त्यसको लागि सरकारी अस्पतालमा एकसयदेखि १५० सम्म रुपियाँ खर्च हुन्छ। पछिल्लो केही वर्षमा सरकारले स्वास्थ्य बीमा कार्यक्रम ल्याएको छ । उक्त बीमा कार्यक्रम अहिले देशभर ५० जिल्लाभन्दा बढी जिल्लामा कार्यान्वयनमा आइसकेको हुनाले मानिसलाई उपचार गर्न र नियमित स्वास्थ्य परीक्षण गर्न सम्भव छ।
मिर्गौला रोग विशेषज्ञ डा. श्रेष्ठले वर्षमा एक पटक पिसाबको परीक्षण गरे मात्र पनि मिर्गौला रोगबारे थाहा हुने भन्दै सबैलाई वर्षमा एक पटक पिसाबको क्रिटिनाइन परीक्षण गर्न सुझाव दिए ।
खानपान, रहनसहन, उच्च रक्तचाप, मधुमेह लगायतका समस्याले गर्दा नेपालमा पछिल्लो समय यसका रोगी बढेको भन्दै डा. श्रेष्ठले मानिसले आफ्नो स्वास्थ्यको हेरचाह आफैं गरे रोगबाट बच्न सकिने बताए।
डा. श्रेष्ठले नेपालमा मिर्गौला रोगी बढेसँगै उपचार विधिमा पनि सहज र सुधार आएको जानकारी दिए। केही वर्ष अघिसम्म नेपालमा मिर्गौला रोगको उपचार तथा प्रत्यारोपण गर्न भारत लगायतका देशमा जानुपर्दथ्यो । अहिले नेपालमै सरकारले प्रत्यारोपण केन्द्र खोलेर वार्षिक पाँचसय भन्दा बढीको प्रत्यारोपण गर्दै आएको छ । केन्द्र बाहेक शिक्षण अस्पतालमा पनि प्रत्यारोपण हुने गरेको छ । वीर अस्पतालमा नियमित मिर्गौला प्रत्यारोपण हुने गरेकोमा हाल स्थगित भएको छ।
नेपालमा वीर अस्पतालबाट सन् १९९८ बाट पहिलो पटक हेमोडाइलासिस सेवा सुरु भएको थियो भने अस्पतालबाट सन् २००८ अगस्ट ८ मा पहिलो पटक मिर्गौला प्रत्यारोपण सुरु गरिएको हो । त्यसको तीन महिनापछि वीर अस्पतालबाट पनि मिर्गौला प्रत्यारोपण गर्न सुरु गरिएको थियो ।
यसैबीच बिहीबार विश्व मिर्गौला दिवस मनाउन लागिएको छ । ‘मिर्गौला रोग लागे पनि राम्ररी जीउँ’ भन्ने नाराका साथ यो दिवस मनाउन लागिएको हो। सन् २००६ देखि विश्व मिर्गौला दिवस मनाउन लागिएको हो।गोरखापत्रबाट





























प्रतिक्रिया