नेपाल-खनाल समूहको भेलाः आफ्नै अध्यक्षमाथि आरोपै आरोप

नेपाल-खनाल समूहको भेलाः आफ्नै अध्यक्षमाथि आरोपै आरोप


‘नेकपा (एमाले)को एकता बचाऔं, कम्युनिस्ट आन्दोलनको रक्षा गरौं’ भन्ने मूल नारासहित सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले) का वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल समूहको दुईदिने राष्ट्रिय भेला बुधबारदेखि काठमाडौंमा सुरु भएको छ ।

काठमाडौंमा भइरहेको सो राष्ट्रिय भेलामा वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री नेपालले अवधारणापत्र पेस गर्दै प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकता नचाहेको आरोप लगाएका छन् । कार्यक्रममा बोल्ने प्रायः सबैजसोले एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीमाथि आरोपै आरोप लगाए ।

उद्घाटन सत्र सकेर सुरु भएको बन्दसत्रमा अवधारणापत्र पेस गर्दै वरिष्ठ नेता नेपालले पार्टी अध्यक्ष ओली एमाले विभाजन गर्न अगाडि बढेकाले पार्टी एकता बचाउन राष्ट्रिय कार्यकर्ता भेला आयोजना गर्नुपरेको दाबी गरे । अवधारणापत्रमा ओलीको कार्यकालको समीक्षा गर्दै राजीनामा माग गरिएको छ ।

‘संविधानको गलत व्याख्या गर्दै अदालतले दुई पार्टीको राजनीतिक एकतालाई कानुनी व्याख्याद्वारा नेकपा एमालेलाई एकीकरणभन्दा अघिको अवस्थामा पुर्यायो । त्यो घटना कम्युनिस्ट आन्दोलनका लागि हामी आफैंले कबोल गरेका वाचाको प्रतिकूल थियो । त्यसमा समेत हर्षबढाइँ गरेर कमरेड केपी ओलीले एकताबद्ध नेपाल कम्युनिस्ट पार्टीको विभाजनलाई आफ्नो गुटको विजय र अरूको पराजयका रूपमा प्रचार गराउनुभयो,’ अवधारणापत्रमा भनिएको छ ।

एमाले नेता युवराज ज्ञवाली, घनश्याम भुसाल, योगेश भट्टराई, सुरेन्द्र पाण्डे र डा. वेदुराम भुसालसहितको पाँच सदस्यीय कार्यदलले अवधारणापत्र तयार गरेको बताइएको छ ।

७० वर्षमा कम्युनिस्ट आन्दोलनले गरेको त्याग, बगाएको रगत, भोगेको यातना, खेपेको बलिदान, कमाएको प्रतिष्ठा, प्रदर्शन गरेको धैर्य, प्रमाणित गरेको दूरदृष्टिको रक्षा गर्न, त्यसबाट मुलुकले पाएका उपलब्धिको विस्तार गर्न र श्रमजीवी जनवर्गको पक्षमा अझ नयाँ–नयाँ क्षितिज उघार्दै अघि बढ्न पर्याप्त सम्भावना रहेको विषयलाई समेत अवधारणापत्रमा उल्लेख गरिएको छ ।राजधानीबाट

Logo