ओलीविरुद्ध कांग्रेसले अविश्वासको प्रस्ताव ल्याउँदैन : देउवा

ओलीविरुद्ध कांग्रेसले अविश्वासको प्रस्ताव ल्याउँदैन : देउवा

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नयाँ सरकार बन्ने वातावरण बनिनसकेको बताएका छन् ।

विराटनगर विमानस्थलमा मंगलबार पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्दै देउवाले कांग्रेसले अहिले सरकारको नेतृत्व लिने वातावरण बनिनसकेको स्पष्ट पारेका हुन् । कांग्रेस नेता अशोक कोइरालाको श्रद्धाञ्जलीसभामा सहभागी हुन र धरानमा आयोजना हुने पार्टी कार्यक्रममा सहभागी हुन देउवा मोरङ आएका हुन् । 

पूर्वप्रधानमन्त्री देउवाले तत्काल प्रधानमन्त्री केपी ओलीविरुद्ध आफ्नो पार्टीले अविश्वासको प्रस्तावसमेत नल्याउने बताए । विमानस्थलमा देउवा र पत्रकारहरूबीच सवालजवाफ चलेको थियो । पत्रकारहरूले सरकार कहिले बनाउने, किन नबनाएको ? देशलाई अनिर्णयको बन्दी किन बनाएको ? प्रतिगमनको नाइकेलाई किन नहटाएको ? ओलीसँग मिलेर सरकार बनाएर चुनावमा किन नगएको भनेर पत्रकारहरूले निरन्तर प्रश्न सोधेपछि देउवा आक्रोशित बनेका थिए । जवाफमा उनले कांग्रेस विपक्षी पार्टी भएको बताउँदै सरकार बन्ने अवस्था नरहेको बताए । 

कांग्रेसको नेतृत्वमा सरकार कहिले बन्छ भनेर सोधेको प्रश्नमा देउवाले आफूहरू विपक्षी पार्टी भएकाले अहिले कांग्रेसको नेतृत्वमा सरकार बनाउने वातावरण बनिनसकेको स्पष्ट पारे । सरकारको अपजसको भार टाउकोमा लिन आफूहरू तयार नभएको उनको भनाइ थियो ।

‘अहिले सरकारको नेतृत्व लिने वातावरण बनिसकेको छैन । प्रतिगमनको नाइके केपी ओली हो र ? तपाईहरूलाई थाहा होला,’ देउवाले भने । तर, पत्रकारहरूको प्रश्न त्यतिमै रोकिएन । उनीहरूले निरन्तर प्रश्न गर्दै अविश्वासको प्रस्ताव कहिले ल्याउने भनेर सोधेको सोध्यै गरेपछि भने देउवा जंगिए । आक्रोशित हुँदै उनले भने, ‘हामी विपक्षी पार्टी हो, विपक्षी पार्टी हो, विपक्षी पार्टी हो, सुन्नु भएन ल जानोस् ।’ अदालतको फैसलापछि देश झन् अनिर्णयको बन्दी बन्यो नि भनेर पत्रकारले सोधेको प्रश्नको देउवाले भने, ‘के ठीक, के बेठीक, त्यो अदालतले भनिसकेको छ ।’नयाँ पत्रिकाबाट

Skip This
Skip This
Logo