एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललगायतका नेताहरूले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई बिहीबार बुझाएको जवाफीपत्रले समस्या समाधान गर्नुभन्दा झनै बल्झाउने स्थिति देखिएको छ ।
एमालेको केही दिनअघि सम्पन्न केन्द्रीय कमिटीको बैठकले नेताहरू माधवकुमार नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेले पार्टी अनुशासन विपरीत काम गरको भन्दै उनीहरूलाई तीनदिने स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । सोहीबमोजिम पार्टीले सोधेको स्पष्टीकरणको जवाफ दिनुको साटो वरिष्ठ नेता नेपाललगायतका नेताहरूले उल्टै प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीलाई गम्भीर आरोप लगाउँदै पत्र लेखेपछि पार्टी फुटको संघारमा पुगेको हो।
स्पष्टीकरणको जवाफपछि पार्टी एक हुन सक्ने आशामा रहेका आमकार्यकर्ता नेपाललगायतका नेताहरूको जवाफपछि असन्तुष्ट र निराश बनेका छन् । योसँगै अब ओली–नेपालको सम्बन्ध टुट्ने अवस्थामा पुगेको छ। नेपालको जवाफीपत्र पछि उनीमाथि थप कारबाही हुने प्रधानमन्त्री निकट स्रोतले बताएको छ। ‘नेपालहरूले पार्टीबाट अलग हुने मनसायका साथ अध्यक्षलाई अराजनीतिक आरोप लगाउँदै पत्र लेखेका छन्, त्यसैले उनीहरूमाथि अनुशासन उल्लंघनमा कठोर कारबाही हुनेछ,’ अध्यक्ष ओलीनिकट एक नेताले भने ।
यसअघि नेकपामा रहँदा नेकपाका अध्यक्ष पुष्पकमल दाहालले अर्का अध्यक्ष ओलीमाथि १९ बुँदे ‘अराजनीतिक’ आरोप लगाएका थिए । त्यही आरोपपछि नै पार्टीमा विभाजनको रेखा कोरिएको थियो । अहिले एमालेका वरिष्ठ नेता नेपालले पनि सोही प्रकृतिकै आरोपसहितको जवाफीपत्र लेखेपछि ओली–नेपाल सम्बन्ध करिब–करिब तोडिने अवस्थामा पुगेको हो।
अध्यक्ष ओलीलाई कडा जवाफ दिँदै नेता नेपालले ‘विधानअनुसार तपाईंलाई कारबाही किन नगर्ने ?’ भन्दै प्रतिप्रश्न गरेका छन् । स्पष्टीकरणको जवाफ दिँदै नेपालले बुझाएको पत्रमा आफूलाई स्पष्टीकरण सोध्नु अवैध कार्य भएको दाबी गरेका छन् । आठ पृष्ठ लामो पत्रमा १३ बुँदे जवाफमा नेपालले ओलीलाई नै कारबाही भोग्नुपर्ने चेतावनीसमेत दिएका छन् ।
नेता नेपालले नेकपाबाट एमालेमा फर्कनुपर्दाको अवस्थाप्रति आक्रोश पोखेका छन् । ‘निर्वाचन आयोगले ‘पार्टी एक हुने भए १५ दिनभित्र निर्वाचन आयोगमा आउनू’ भनी दिएको सूचनाबारे केन्द्रीय कमिटीको अध्यक्षको हैसियतले नेकपा (एमाले)को केन्द्रीय कमिटीको बैठक विधिवत् बोलाई तपाइँले छलफल किन गराउनुभएन ?’ नेपालले दिएको स्पष्टीकरणपत्रमा प्रश्न गरिएको छ ।
नेपाल–प्रचण्डको सामीप्यता अझै बढ्यो
एमालेका वरिष्ठ नेता नेपालको आफ्नै अध्यक्ष केपी शर्मा ओलीसँग सम्बन्ध टुट्ने अवस्थामा पुगेको भए पनि माओवादी केन्द्रका अध्यक्ष पुष्पमकल दाहाल ‘प्रचण्ड’सँगको सम्बन्ध भने अझै गाढा देखिएको छ।
नेता नेपाल र माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’बीच बिहीबार छलफल भएको छ । दुई नेताको छलफलमा २३ फागुनमा सर्वोच्च अदालतको फैसलापछि एमाले र माओवादी केन्द्र छुटिएकोमा पुनरावलोकनमा जाने सहमति भएको छ ।
यसअघि नेकपामा रहँदा पनि नेपाल र प्रचण्ड मिलेर ओलीविरुद्ध मोर्चाबन्दी कसेका थिए । ओलीलाई नेकपाको साधारण सदस्यताबाट हटाएका नेपाल र दाहाल पुनः पार्टी एकता कायम गराउने कसरतमा जुटेका छन्।राजधानीबाट





























प्रतिक्रिया