माधव नेपाल र भीम रावल कारवाहीको भागीदार छन् : अध्यक्ष ओली

माधव नेपाल र भीम रावल कारवाहीको भागीदार छन् : अध्यक्ष ओली

केन्द्रबिन्दु
0
Shares

नेकपा (एमाले) अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीले एमाले वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावलको स्पष्टीकरण कारवाहीको भागीदार रहेको बताएका छन्। शुक्रबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको संंसदीय दलको बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो बताएको एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए। 

स्पष्टीकरण सोधिएका चार नेतामध्ये दुईजनाको स्पष्टीकरण आएको र त्यो नकारात्मक र कारवाहीको भागीदार भएको ओलीले बताएका हुन्। उनले अन्य दुई नेताको स्पष्टीकरण आउन बाँकी रहेकाले त्यो सकारात्मक ढंगले आउने र त्यसले पार्टीलाई एकताबद्ध बनाउने विश्वाससमेत व्यक्त गरेका छन्। वरिष्ठ नेता नेपाल र उपाध्यक्ष रावलले स्पष्टीकरण दिए पनि घनश्याम भुसाल र सुरेन्द्र पाण्डेले स्पष्टीकरण दिएका छैनन्। 

दुवैजनाको स्पष्टीकरण कारवाहीको भागीदार भए पनि के कारवाही हुन्छ भन्ने कुरा ओलीले बताएका छैनन्। कारवाहीको निर्णय केन्द्रीय कमिटीबाट हुने उनको भनाइ छ। 

‘चार जनामध्ये दुई जनाको स्पष्टीकरण आएको छ। त्यो स्पष्टीकरण अत्यन्त नकारात्मक छ। त्यो कारवाहीको भागीदार छ। प्रधानमन्त्रीको शब्द त्यही हो’, सचेतक भट्टराईले भने, ‘बाँकी दुई जनाको सकारात्मक कोणबाट आउने अपेक्षा गरेको र त्यसले पार्टीलाई एकताबद्ध बनाउने विश्वास व्यक्त गर्नु भएको छ।’  

बैठकमा बोल्दै नेपाल समूहका सांसद् एवम् वरिष्ठ नेता झलनाथ खनाल, सांसद घनश्याम भुसाल, योगेश भट्टराई, गोकर्ण विष्टले प्रधानमन्त्रीले पार्टी एकताबद्ध बनाउन ऐतिहासिक भूमिका निर्वाह गर्नुपर्ने अवस्था आएको भन्दै २०७५ जेठ २ को अवस्थाबाट अगाडि बढ्नुपर्नेमा जोड दिए।अन्नपूर्णबाट

Logo