‘हेल्लो प्रहरी ! मेरो भाइले अपराध गर्‍यो’

‘हेल्लो प्रहरी ! मेरो भाइले अपराध गर्‍यो’

केन्द्रबिन्दु
0
Shares

एकै गाउँका तीन युवक एकै ट्याक्टरमा काम गर्थे । चैत ५ गते दिनभर खोलाकिनारमा ढुंगा, बालुवाको काम गरे । साँझ ट्याक्टरमा चालकलाई बीच पारी दायाँ–बायाँ दुई सहचालक बसे । उनीहरू ढुंगा, बालुवा भरिएको ट्याक्टर लिएर गल्याङ नगरपालिका–८ बग्रान्तीतर्फ लागे ।

ट्याक्टर गुडिरहेकै बेला एक सहचालक १९ वर्षे गणेश गाहा भुइँमा खसेर घाइते भए । त्यसपछि चालकले ट्याक्टर फर्काए । घाइते अवस्थामा रहेका गाहालाई ट्याक्टरमै राखेर कालीगण्डकी नदीको साखरघाट पुर्‍याए । तब चालकले काँधमा हालेर लगे अनि नदीको बहावसँगै बगाइदिएको पाइएको प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले बताए । त्यही घटनाका एक आरोपित व्यक्ति हुन्, सहचालक २१ वर्षे सुनील राना । उक्त घटना सुनाएपछि दिदीले नै उनलाई प्रहरीमा पुर्‍याएकी थिइन् ।

घटनापछि राना चालक २४ वर्षे अमित परियारको घरमा बसेका थिए । परियार भोलिपल्ट बिहानै बुटवलमा ससुरालीको घरतर्फ लागे । राना भने पाल्पास्थित दिदीको घरमा पुगे । त्यहाँ बस्दै गर्दा उनलाई उकुसमुकुस भयो । अन्ततः उनले दिदी देवी घिमिरेलाई घटनाको वास्तविकता सुनाए । उनले दिदीलाई भने, ‘मेरो सहायताले चालक अमित परियारले काँधमा बोकेर लगी अस्ति राति घाइते गणेशलाई कालीगण्डकी नदीमा फालिदिए ।’

उनी घटना सुनेर झस्किइन् । गाहालाई भाइसरह सम्झिइन् । यस्तो घटना लुकाउन हुँदैन भन्ने ठानेर उनले प्रहरीको १०० नम्बरमा फोन गरेर जानकारी दिइन् । त्यसपछि भाइलाई लिएरै प्रहरी चौकीमा पुगिन् । भाइले गरेको गल्तीको कानुनी उपचार पाउनु पर्छ भन्दै उनी अघि बढिन् । परियारलाई फोन गरेर बोलाए तर आउन नमानेको प्रहरीले जनाएको छ ।

राना चैत ८ गते पक्राउ परे । उनकै सहायतामा प्रहरीले अनुसन्धान अघि बढायो । पत्नी र एक छोरीसहित भारततर्फ जान लागेको अवस्थामा परियारलाई पनि रूपन्देहीको बेलहिया नाकाबाट पक्राउ गरिएको प्रहरी उपरीक्षक बोगटीले बताए । परियार रूपन्देहीमा लुकिछिपी बसेको सूचनाका आधारमा प्रहरी निरीक्षक हरिप्रसाद पौडेल नेतृत्वको टोली खटिएको थियो । परियार सासू सिकिस्तै बिरामी भएको र नगई नहुने जनाउँदै पत्नीसहित बुटवल जानै पर्ने भनेर त्यसतर्फ लागेको पाइएको प्रहरी अनुसन्धानले देखाएको छ ।

ट्याक्टरबाट खसेर घाइते भएका गाहा नदीमा फालेपछि बेपत्ता भई घटनाबारे कसैलाई थाहा हँुदैन भन्ने अक्कल लगाउँदा ज्यानै गएको जिल्ला प्रहरी प्रमुख बोगटीले बताए । ‘घाइतेलाई उपचारमा लग्नुपर्नेमा ज्यानै लिनेसम्मका काम गरे’, उनले भने, ‘सवारी दुर्घटनासम्बन्धी मुद्दालाई बेवास्ता गर्नाले कर्तव्य ज्यान मुद्दा बन्यो ।’

दुर्घटना भएकै स्थानका बासिन्दा मनोज विकले एक महिनाअघि ट्र्याक्टर किनेका थिए । जसले स्थायी नम्बर पनि पाएका थिएनन् । अस्थायी नम्बर लु.अ.अ.फ. १०१२ को ट्याक्टरमा गल्याङ नगरपालिकाका विकले परियारलाई चालक, राना र गाहालाई सहचालकको जिम्मेवारी दिएका थिए ।

घटनास्थलमा मृतकको एक जोर चप्पल र रगत लागेको ढुंगा भेटिएको प्रहरीले जनाएको छ । दुवैलाई कर्तव्य ज्यानसम्बन्धी मुद्दामा अदालतबाट सोमबार सात दिनको म्याद थपी अनुसन्धान जारी रहेको प्रहरीलले जनाएको छ । घटनाको ६ दिनपछि गाहको शव पाल्पास्थित कालीगण्डकी नदीकिनार मुलियाघाटमा भेटिएको प्रहरी नायब उपरीक्षक राजेन्द्र अधिकारीले बताए । अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ । 

Logo