सर्वोच्च अदालतको फैसलापछि संसद् पुर्नस्थापनासँगै प्रधानमन्त्री केपी ओली अल्पमतमा परे र उनले संसद्को बैठकमा कुनै पनि प्रस्ताव अघि बढ्न दिएनन्। संसद्का ६ वटा बैठकमा कुनै पनि प्रस्ताव नगएपछि ती बैठक औपचारिकतामा मात्रै सीमित भए। सभामुख अग्निप्रसाद सापकोटाले संसद्लाई गति दिने विषयमा प्रधानमन्त्री ओलीसँग छलफल गरिएको भनिए पनि त्यो भेटले संसदमा कुनै परिवर्तन आएको छैन।
संसदबाट जुनसुकै प्रस्ताव पनि अस्वीकृत भएमा सरकारलाई नैतिकताको प्रश्न उठ्ने र प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने अवस्थाको सृजना हुने हुँदा प्रधानमन्त्री ओलीले कुनै पनि प्रस्ताव अघि बढाउन नदिएको स्रोतले बताएको छ। प्रधानमन्त्री ओलीले भने शुक्रबार एक सार्वजनिक कार्यक्रममा उल्टै संसद्ले काम गर्न नदिएको बताएका छन्। उनले भने, ‘संसदमा तानातानको अवस्था मात्रै छ। संसद्ले जनताको काम गर्नुपर्छ तर गर्न सकेको छैन।’
सर्वोच्चको फागुन ११ गतेको फैसलासँगै फागुन २३ गतेदेखि सुरु संसद्को अधिवेशन अब धेरै दिन नचल्ने सरकारी स्रोतको दाबी छ। ‘संसदमै रहेका विधेयक, जरुरी महत्वका प्रस्ताव अघि नबढ्ने भएपछि अब संसद्को बैठक बस्नु र नबस्नुको कुनै अर्थ देखिएन,’ संसद सचिवालयका एक अधिकारीले भने। यति मात्र होइन, सरकारले संसद् नहुँदा विभिन्न समयमा ल्याएका अध्यादेशमध्ये संवैधानिक परिषद्सम्बन्धी अध्यादेशबाहेक अन्य सात अध्यादेश टेबुल हुनै बाँकी छ। ती अध्यादेशलाई संसदमा टेबुल मात्र होइन, बहुमतले स्वीकृत पनि गर्नुपर्दछ। संविधानको व्यवस्थाबमोजिम अध्यादेश दुवै सदनले स्वीकार नगरेमा निष्क्रिय हुन्छ, राष्ट्रपतिबाट खारेज हुनसक्छ, निष्क्रिय वा खारेज नभएमा सदनको बैठक बसेको ६० दिनपछि स्वतः निष्क्रिय हुनेछ। राष्ट्रिय सभाका सांसद तथा कानुनविज्ञ रामनारायण विडारीले पनि ‘अध्यादेश निष्क्रिय हुने दिशातर्फ गएको बताए।
सरकारले ल्याएको अध्यादेश ऐनसरह लागू हुन्छ, तर संसद् बसेको पहिलो बैठकमा टेबुल गर्नुपर्ने र संसद् बसेको ६० दिनभित्र त्यसलाई स्वीकृत गर्नुपर्ने र प्रतिस्थापन विधेयक ल्याउनुपर्ने हुन्छ। सरकारले ल्याएका अध्यादेश पहिलो बैठकमा टेबुल हुन सकेनन् भने प्रतिनिधिसभा नियमावली २०७५ को नियम ९३ लाई निलम्बन गर्नुपर्ने हुन्छ। नियम ९३ मा भनिएको छ, ‘संविधानको धारा ११४ बमोजिम जारी भएको अध्यादेश, जारी भएपछि आह्वान भएको सदनको पहिलो बैठकमा सम्बन्धित मन्त्रीले पेस गर्नेछ।’ संसद्को पहिलेको बैठकमा संवैधानिक परिषद्, काम, कर्तव्य, अधिकार र कार्यविधिसम्बन्धी (पहिलो संशोधन) अध्यादेश २०७७ टेबुल गर्ने बेलामा कांग्रेस र जसपा नै सभामुखको अघिको वेलमा आएर नाराबाजी गरे पनि होहल्लाकै बीच टेबुल गरे पनि यो अध्यादेशलाई संसदबाट स्वीकृतिका लागि कार्यसूचीमा राखिएको छैन।
संसद्लाई सरकारले बिजनेस दिनुपर्ने संसदीय व्यवस्थाको नियम भए पनि सरकारले बिजनेस दिने काम गरेको छैन भन्दै संसद्को १८ गतेको बैठकमा माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले विरोध गरेका थिए। संसद् बैठक फागुन २३ र २६ गते, चैत ३, ६, १० र १८ गते बसिसकेको छ। तर, ती बैठकमा कुनै पनि प्रस्ताव, विधेयक, अध्यादेश अघि बढेनन्। संसद्लाई बेकामे बनाएको अवस्थामा प्रमुख प्रतिपक्षी दल कांग्रेसले पनि कुनै प्रश्न उठाएको छैन भने सरकारलाई समर्थन गरेको माओवादी केन्द्र पनि विरोधका लागि विरोध मात्र गरिरहेको अवस्था छ। नागरिकबाट





























प्रतिक्रिया