एमालेभित्र चर्किएको आन्तरिक कलह कर्णालीबाट विष्फोट, केन्द्रकाे राजनीतिसमेत तरंगित

एमालेभित्र चर्किएको आन्तरिक कलह कर्णालीबाट विष्फोट, केन्द्रकाे राजनीतिसमेत तरंगित


एमालेभित्र चर्किएको आन्तरिक कलह कर्णाली प्रदेशबाट विष्फोट भएको छ। माओवादीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध प्रधानमन्त्री केपी ओलीको प्रहार असफल भएको हो। मुख्यमन्त्रीविरुद्धको अविश्वास प्रस्तावलाई फेल गराउने निर्णायक भूमिका एमालेकै चार सांसदले निर्वाह गरेका छन्। 

शुक्रबार अविश्वास प्रस्तावमाथि प्रदेशसभामा भएको मतदानको अन्तिम क्षणसम्म पनि मुख्यमन्त्रीको पद जोखिममा थियो। जब मतदान सुरु भयो एमाले वरिष्ठ नेता माधव नेपाल समूहका चार सांसदले फ्लोर क्रस गर्दै मुख्यमन्त्री शाहीको पक्षमा मतदान गरे। एमालेका सांसद प्रकाश ज्वाला, कुर्मराज शाही, नन्दसिंह बुढा र अम्बरबहादुर थापाले फ्लोर क्रस गरेका हुन्। 

कर्णालीको यो फ्लोर क्रसले काठमाडौंको राजनीतिसमेत तरंगित भएको छ। प्रधानमन्त्री ओलीलाई कर्णालीको यो घटनाले झट्का दिएको छ। अरु प्रदेशमा पनि ओली निकटका मुख्यमन्त्रीलाई हटाउने अभियानमा एमाले नेपाल समूहका सांसदले यसरी नै फ्लोर क्रस गरेर सघाए भने आश्चर्य मान्नु पर्दैन। केही दिनअघि राजधानीमा आयोजित कार्यक्रममा नेता नेपालले ओलीको विकल्प खोज्न विपक्षी एक ठाउँमा उभिएमा आफूहरुले त्यसलाई नरोक्ने बताएका थिए। त्यसको परिणाम शुक्रबार कर्णालीमा देखिएको हो। 

प्रदेश सरकारमा देखिएको ओलीविरुद्धको यो समीकरणले केन्द्रको सत्तालाईसमेत धक्का दिएको छ। प्रधानमन्त्री ओलीको विकल्प खोज्ने माओवादी र कांग्रेसको रणनीतिलाई कर्णालीमा विकसित भएको यो समीकरणले बल पुगेको छ। संघीय संसदमा निर्णायक खेलाडी मानिएको जनता समाजवादी पार्टी (जसपा)ले निर्णय नगर्दा वैकल्पिक सरकारको निर्माण अन्योलमा परिरहेको बेला एमालेको फ्लोर क्रसले नयाँ सम्भावनाको ढोका खुलेको छ। अब केन्द्रमा पनि जसपाको साथ लिएर कांग्रेस, माओवादी र एमालेको नेपाल समूहले फ्लोर क्रस गरेमा नयाँ सरकार बनाउन बहुमत पुग्ने देखिन्छ। 

केन्द्रको रिस प्रदेशमा 
कर्णाली प्रदेशका मुख्यमन्त्रीले अविश्वासको प्रस्ताव सामना गर्नु एक दिन अगाडि बिहीबार आफूविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आक्रोश पोखे। उनले केन्द्रको रिसले प्रदेश सरकारलाई हटाउनु संघीयता र स्थिरता दुबैको मर्मविपरित भएको प्रतिक्रिया दिए। उनको टिप्पणी यस्तो थियो- ‘काठमाडौंमा रिस उठेको बिरालोले पोखरा आएर खाँबो चिथोर्छ भनेझै केन्द्रको रिस प्रदेशमा पोखिएको छ।’

गण्डकीका गुरुङविरुद्धको प्रहार उनको काम र कार्यशैलीमा भन्दा पनि ओलीको दाइने हात भएर उनले गरेको सहयोगको रिसको रुपमा आएको देखिन्छ। कर्णालीमा जस्तै गण्डकीमा प्रचण्ड र नेपाल समूहको योजनामा कांग्रेस र राष्ट्रिय जनमोर्चाले साथ दिएको देखिन्छ। जसले जसरी साथ दिए पनि केन्द्रको सरकार ढाल्न नसकेको रिस प्रदेशमा फेर्नु कमजोर मानसिकताको उपज देखिन्छ। प्रदेश सरकारमाथि शृङ्खलाबद्ध रुपमा दर्ता भएका अविश्वास प्रस्ताव यसका उदाहरण हुन्।अन्नपूर्णबाट

Logo