सिनामंगलस्थित सुरिया हेल्थकेयर र मेरिट मल्टिकेयर मेडिकल सेन्टरले महँगो मूल्यमा कोभिड– १९ को नक्कली पिसिआर रिपोर्ट उपलब्ध गराउने गरेको खुलेको छ । प्रहरीले छापा मारेर कागजात नियन्त्रणमा लिएपछि केयरले नक्कली पिसिआर रिपोर्ट उपलब्ध गराउने गरेको खुलेको हो ।
प्रहरीले मंगलबार सुरिया हेल्थकेयर र मेरिट मल्टिकेयर मेडिकल सेन्टरमा छापा मारेको थियो । जसमध्ये सुरिया हेल्थकेयर डा. सिपी श्रीकुमारबाट सञ्चालित हो । मेरिट मल्टिकेयर मेडिकल सेन्टर चित्रबहादुर रायमाझीले सञ्चालन गर्दै आएका छन् । दुई सञ्चालकसहित आठ पक्राउ परेका छन् ।
पक्राउ पर्ने अन्यमा सप्तरी राजविराज नगरपालिका–१३ का प्रमोदकुमार यादव, महोत्तरी गौशाला–१ का प्रदीपकुमार गिरी, महोत्तरी सोनाम–६ का अमनकुमार यादव, मोरङ विराटनगर–३ का वजेश पोखरेल, महोत्तरी गौशाला–१ का बादल मिरिङ छिङ, दोलखा बैतेश्वरी–५ का सरोज क्षेत्री र सप्तरी मध्यपुरा–१ का डा. खेलानन्दप्रसाद सिंह छन् ।
एक वर्षअघिबाट सञ्चालनमा आएका ल्याबले स्वाब नै नलिई पिसिआर रिपोर्ट उपलब्ध गराउँदै आएका थिए । प्रतिपिसिआर नौ हजार रुपैयाँका दरले उपलब्ध गराउने केयरमा विशेष गरी वैदेशिक रोजगारमा जान चाहनेहरूको भिड लाग्ने गथ्र्यो ।
विशेष सूचनाका आधारमा केयर निगरानीमा रहेको र मंगलबार छापा मारिएको महाशाखाका एपी कृष्ण पंगेनीले बताए । ‘ल्याबले नौ हजार रुपैयाँमा पिसिआर रिपोर्ट दिने गरेको देखिन्छ । यसका लागि स्वाब नै दिनु नपर्ने रहेछ । एक वर्षअघिबाट सञ्चालनमा आएको केयरले यस अवधिमा कतिलाई यस्ता नक्कली रिपोर्ट दिए ? यसको अनुसन्धान हुन बाँकी नै छ,’ उनले भने । नयाँ पत्रिका दैनिकमा समाचार छ ।































प्रतिक्रिया