कोरोना संक्रमित बढेपछि वीरगञ्ज नाकाबाट आवागमनमा कडाइ

कोरोना संक्रमित बढेपछि वीरगञ्ज नाकाबाट आवागमनमा कडाइ


भारतसँग सीमाना जोडिएको वीरगञ्ज महानगर र आसपासका क्षेत्रमा कोरोना संक्रमण ह्वात्तै बढेपछि स्थानीय प्रशासनले सीमा नाकाबाट हुने आवागमनमा कडाइ गरेको छ। भारतबाट नेपाल आउनेहरूलाई अत्यावश्यक कामबाहेक भित्रिन नदिइएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले बताए।

सक्रिय संक्रमितको संख्या दिनप्रतिदिन बढ्न थालेपछि नाकामा कडाइ गरिएको सहायक प्रमुख जिल्ला अधिकारी पौडेलले बताए। ‘खुला र अनियन्त्रित आवागमनले कोरोना संक्रमण अझ फैलिने जोखिम बढायो । नाकाबाट हुने आउजाउलाई निरुत्साहित गरिएको छ,’ उनले भने।

अत्यावश्यक काम नपरी नेपालबाट भारततर्फ पनि नजान प्रशासनले आग्रह गरेको छ। पर्सामा अहिले कोरोनाका सक्रिय संक्रमितको संख्या ५०० भन्दा बढी पुगिसकेको जानकारी पौडेलले दिए ।

भारतमा संक्रमण तीव्र गतिमा फैलिएकाले खुला सीमानाबाट निर्बाध आवतजावत गर्दा संक्रमणको जोखिम बढेको निष्कर्ष प्रशासनको छ। मुख्य नाका वीरगञ्जमा दुईवटा हेल्थ डेस्क राखिएको छ।

भारतबाट आउनेहरूको तापक्रम र कोरोनाको एन्टिजेन परीक्षण भइरहेको जिल्ला प्रशासन कार्यालय पर्साका सूचना अधिकारीसमेत रहेका पौडेलले बताए। एन्टिजेन परीक्षणमा संक्रमण पुष्टि भएकाहरूलाई आइसोलेसनमा पठाउने गरिएको जानकारी पनि उनले दिए।

यसैबीच, बिहीवार स्थानीय कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले पर्साका प्रत्येक पालिकाहरूमा आइसोलेसन बनाउने निर्णय गरेको छ। पर्साका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेको संयोजनमा पर्साका १४ वटा पालिका प्रमुखहरूको बैठकले कोरोना महामारीको दोस्रो लहर फैलिन नदिन आइसोलेसन र उपचारका अन्य पूर्वाधार तयारी राख्ने निर्णय गरेको पौडेलले बताए।आर्थिक अभियानबाट

Logo