नेपाल धितोपत्र बोर्डले चालू आर्थिक वर्षमा मात्रै १३ अर्ब ३४ करोड बढीको प्राथमिक शेयर निष्कासन गरेको छ। बोर्डले चालु आवको पछिल्लो १० महिनामा १४ वटा कम्पनीलाई १३ अर्ब ३४ करोड ६ लाख ९५ हजार रूपैयाँ बराबरको प्राथमिक सेयर निष्कासनकोे अनुमति दिएको थियाे।
प्राथमिक शेयर निष्कासनको अनुमति पाएकामध्ये दुईवटा कम्पनीको आईपीओ निष्कासन हुन बाँकी रहेको छ। एक वर्षअघिसम्म आईपीओ बिक्री गर्न हम्मेहम्मे पर्ने गरेको थियो भने पछिल्लो समय शेयर बजारको सकारात्मक लयसँगै आईपीओ आउँदा मागभन्दा अत्यधिक आवेदन पर्ने गरेको छ। यस वर्ष तुलनात्मक रूपमा प्राथमिक शेयरमा आवेदन गर्ने लगानीकर्ताको संख्यामा पनि उच्च रूपले वृद्धि भएको छ। प्राथमिक बजारमा निष्कासन भएका कम्पनीको शेयरमार्फत छोटो समयमा राम्रो आम्दानी भएका कारण पनि यस वर्ष आईपीओ खरिद गर्ने लगानीकर्ताको संख्यामा वृद्धि भएको हो।
चालू आर्थिक वर्षमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको ६३ लाख कित्ता, समाज लघुवित्त वित्तीय संस्थाको ८६ हजार कित्ता, जनरल इन्स्योरेन्स कम्पनी नेपालको ३० लाख कित्ता, सानिमा जनरल इन्स्योरेन्सको ३० लाख कित्ता, चन्द्रागिरी हिल्सको १८ लाख ४० हजार ९ सय १० कित्ता, प्रभु लाइफ इन्स्योरेन्सको ६०लाख कित्ता, नेपाल इन्फ्रास्टक्चर बैंकको ८ करोड कित्ता प्राथमिक शेयर निष्कासन गरेको छ।
त्यस्तै, सिंगटी हाइड्रो इनर्जीको ४३ लाख ५० हजार कित्ता, ग्रिन लाइफ हाइड्रोपावरको ३४ लाख ९६ हजार ४ सय कित्ता, महिला लघुवित्त वित्तीय संस्थाको ४ लाख कित्ता, रूरू जलविद्युत् परियोजनाको ८ लाख १५ हजार ४ सय ११ कित्ता र ज्योति लाइफ इन्स्योरेन्सको ६६ लाख कित्ता प्राथमिक शेयर निष्कासन भई सकेर दोस्रो बजारमा कारोबारसमेत भइरहेका छन्।
प्राथमिक शेयर निष्कासनको अनुमति पाएका दुईवटा कम्पनीको आईपीओ भने निष्कासन भएका छैनन् । यसमा सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले वैशाख १७ गतेदेखि २५ लाख १८ हजार २ सय ३० कित्ता आईपीओ निष्कासन गर्ने भएको छ भने मध्य भोटेकोसी जलविद्युत् कम्पनीले समेत ५ वैशाखमा आईपीओ निष्कासनको अनुमति पाएको छ। यसको १ करोड ५० लाख कित्ता शेयर निष्कासन हुनेछ।
अझै पनि नेपाल धितोपत्र बोर्डको पाइपलाइनमा १५ वटा कम्पनी आईपीओ निष्कासनका लागि अनुमतिको पर्खाइमा बसेका छन् । ५ अर्ब ६३ करोड ३१ लाख ९५ हजार ५ सय रुपैयाँ बराबरको प्राथमिक शेयर निष्कासनका लागि अनुमति माग गरिएको छ।
शेयर बजार बढेसँगै प्राथमिक बजारमा लगानीकर्ताको उपस्थितिसमेत बढ्दै गएको छ। गत वर्ष करिब १७ लाखमा सीमित रहेका हितग्राही (डिम्याट) खाता शतप्रतिशतभन्दा धेरैले बढेर ३४ लाख ६० हजार नाघेको सीडीएस एन्ड क्यिरिङको तथ्यांकमा उल्लेख छ।
बोर्डले चालू आर्थिक वर्षमा प्राथमिक शेयरसँगै ३६ अर्ब २२ करोड ३० लाख रुपैयाँभन्दा बढीको बोनस शेयर, ११ अर्ब ८४ करोड बराबरको ऋणपत्र, २ अर्ब ४८ करोड २७ लाख रुपैयाँभन्दा बढीको हकप्रद शेयर र ४ अर्ब ५० करोड बराबरको म्युचुअफ फन्ड निष्कासन गरेको छ।राजधानीबाट





























प्रतिक्रिया