कोरोना रोकथाममा गम्भीर बन्न देउवा र प्रचण्डद्वारा सरकारको ध्यानाकर्षण

कोरोना रोकथाममा गम्भीर बन्न देउवा र प्रचण्डद्वारा सरकारको ध्यानाकर्षण

केन्द्रबिन्दु
0
Shares

कोरोना संक्रमणको दोस्रो लहर अझ आक्रामक एवं तीव्र संक्रामकका रूपमा देखिन थालेपछि कांग्रेस र माओवादी केन्द्रले रोकथाम, नियन्त्रण र उपचारमा गम्भीर बन्न सरकारको ध्यानाकर्षण गराएका छन्। सोमबार कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै जनताको स्वास्थ्यमा खेलबाड नगर्न तथा उच्च प्राथमिकताका साथ सबै स्थानीय निकायमा स्वास्थ्य उपकरण र सामग्रीको समुचित व्यवस्था मिलाउन आग्रह गरेका हुन् । 

देउवाले परिस्थितिलाई थप जटिल हुन नदिन तत्काल कोभिड–१९ को संक्रमणलाई रोक्ने हरसम्भव उपाय गर्न सरकारसँग माग गरेका छन् । ‘परिस्थितिलाई थप जटिल हुन नदिन तत्काल कोभिड– १९ को संक्रमणलाई रोक्ने हरसम्भव उपाय गर्न म सरकारसँग माग गर्दछु । साथै, संक्रमितहरूको उपचारका लागि आवश्यक स्वास्थ्य संरचना, स्वास्थ्य सामग्रीहरूको उपलब्धता र स्वास्थ्यकर्मीहरूको मनोबल उच्च राख्न आवश्यक व्यवस्था मिलाउनेतर्फ सरकार गम्भीर हुन माग गर्दछु,’ देउवाको विज्ञप्तिमा छ । 

देउवाले कोभिड–१९ को संक्रमणबाट सुरक्षित राख्न खोप सबैभन्दा भरपर्दो उपाय भएको बताउँदै यसतर्फ सरकार समयमै गम्भीर नहुनाले खोपको समुचित व्यवस्थापन हुन नसकेको टिप्पणी गरेका छन् । ‘मित्रराष्ट्र भारतबाट सुरुमै १० लाख डोज निःशुल्क खोप प्राप्त भएको कारण ठूलो राहत महसुस भएको थियो । पछि चीनबाट पनि खोप निःशुल्क प्राप्त भई वितरण हुँदै छ, देशको सम्पूर्ण आवश्यकता पूर्ति गर्न हामीलाई अझै ठूलो संख्यामा खोप आवश्यक छ । चाँडोभन्दा चाँडो आवश्यक खोपको व्यवस्था मिलाउनेतर्फ ठोस योजनासहित कूटनीतिक सक्रियता बढाउन पनि सरकारसँग माग गर्दछु,’ देउवाको विज्ञप्तिमा छ ।

यता प्रचण्डले कोरोनाको दोस्रो लहरको महामारी फैलिएको घटनाले सिंगो देश आक्रान्त भएको भन्दै सरकारलाई शिलान्यास र उद्घाटनमा समय नबिताउन आग्रह गरेका छन् । ‘स्वास्थ्य सेवा प्रभावकारी बनाई जनतालाई राहत दिन केन्द्रित हुनुको सट्टा वर्तमान सरकारको शिलान्यास र उद्घाटनमा केन्द्रित हुने आचरणले अप्ठ्यारो दिनको सामना गर्नुपर्ने त होइन भन्ने नेपाली जनसमुदायमा आशंका बढाएको छ,’ प्रचण्डको विज्ञप्तिमा छ, ‘म सरकारसँग जनताको स्वास्थ्यमा खेलबाड नगर्न तथा उच्च प्राथमिकताका साथ सबै स्थानीय निकायमा स्वास्थ्य उपकरण र सामग्रीको समुचित व्यवस्था मिलाउन विशेष आग्रह गर्दछु । महामारीको सबैभन्दा बढी मार श्रमजीवी जनसमुदायलाई पर्ने भएकाले उनीहरूका लागि खाद्यान्न तथा अन्य विशेष सहयोगको व्यवस्था मिलाउन सरकारका साथै निजी क्षेत्रसँग पनि अपिल गर्दछु ।’नयाँ पत्रिकाबाट

Skip This
Skip This
Logo