कोरोनाको दोस्रो लहर : यस वर्ष सर्वसाधारण र सेलिब्रेटीदेखि भीआइपीसम्म प्रभावित

कोरोनाको दोस्रो लहर : यस वर्ष सर्वसाधारण र सेलिब्रेटीदेखि भीआइपीसम्म प्रभावित


कोरोना महामारीको संक्रमण नेपालमा पनि दैनिक रुपमा नयाँ रेकर्ड राख्दै अघि बढिरहेको छ। छिमेकी राष्ट्र भारतमा कोरोनाको दोस्रो लहरले झनै भयावह रुप लिइरहेको छ। नेपालमा यसको प्रत्यक्ष असर देखिन थालेको छ। 

महामारीले न ठूलो न सानो व्यक्ति भन्छ। वा न धनी न गरिब । स्वास्थ्य सतर्कतामा हेलचेक्र्याई गरियो भने जो कोहीलाई पनि संक्रमण हुन सक्छ। पछिल्लो समय कोरोना महामारीका कारण सर्वसाधारण, सेलिब्रेटीदेखि उच्चपदस्थहरुमा कोरोना संक्रमण पुष्टि भइसकेको छ।

यसबीचमा पूर्वराजा ज्ञानेन्द्र शाह र उनकी पत्नी कोमल शाहलाई कोरोना संक्रमण पुष्टि भएको छ। भारतको हरिद्वारमा गंगा स्नान गरेर स्वदेश फर्किएपछि शाह दम्पतीले कोरोना संक्रमण परीक्षण गराएका थिए । उक्त परीक्षणमा रिपोर्ट पोजेटिभ आएको हो। हाल उनीहरु नर्भिक अस्पतालमा उपचाररत छन् । यस्तै कलाकार मदनकृष्ण श्रेष्ठलाई जन्मदिनकै दिन कोरोना संक्रमण भएको थियो । श्रेष्ठसहित उनका परिवारका पाँच जनामा बैशाख ६ गते कोरोना संक्रमण पुष्टि भएको थियो। श्रेष्ठ हाल कोरोना संक्रमणमुक्त भइसकेका छन् । संक्रमणमुक्त भएपछि उनले आफ्नो फेसबुकमार्फत् एक भिडिओ सन्देश जारी गर्दै आफ्नो स्वास्थ्यलगायत विषयमा विभिन्न जानकारी दिएका छन्। कोरोना संक्रमण निकै भयावह रुपमा फैलिएका कारण सबैलाई सुरक्षित रहन र स्वास्थ्य मापदण्ड पालना गर्न श्रेष्ठले आग्रह गरेका छन्।

उर्जा, जलस्रोत तथा सिँचाई मन्त्री टोपबहादुर रायमाझी पनि कोरोना संक्रमित भएका छन् । उनलाई बैशाख १३ गते नै कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमण देखिएपछि रायमाझीलाई छाउनीस्थित सैनिक अस्पतालमा राखिएको छ। गृह जिल्ला अर्घाखाँचीमा आयोजित कार्यक्रममा भाग लिएर फर्किएपछि रायमाझीको पीसीआर गरिएको थियो। 

अर्का खानेपानीमन्त्री मणि थापामा पनि कोरोना संक्रमण पुष्टि भएको छ। थापालाई शुक्रबार कोरोना संक्रमण पुष्टि भएको हो । हाल उनी सरकारी निवासमै होम आइसोलेसमा छन्। यस्तै नेपाली सेनाका पूर्वप्रधान सेनापति रुकमाङ्गद कटवाललाई कोरोना संक्रमण पुष्टि भएको छ। पूर्वप्रधान सेनापति कटवाललाई झण्डै दुई साताअघि कोरोना संक्रमण पुष्टि भएको थियो। हाल उनी सैनिक अस्पतालको आइसीयूमा कोरोनासँग लडिरहेका छन्। 

कोरोना संक्रमण हुनेमा अर्का छन् पूर्वसभामुख दमननाथ ढुंगाना। ढुंगाना आफैंले ट्वीटरमार्फत् कोरोना संक्रमित बनेको जानकारी दिएका हुन्। ‘सावधानी अपनाउन सतर्क रहँदारहँदै कोभिड–१९ को नयाँ लहरले मलाई पनि गाँज्यो,’ उनले ट्वीटरमा लेखेका छन्। हाल ढुंगाना भक्तपुस्थित आफ्नै निवासमा होम आइसोलेसनमा छन्। 

यस्तै एमाले नेता विष्णु रिजाललाई पनि कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै शनिबार मात्र पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। अहिले नर्भिक अस्पतालमा खनालको उपचार भैरहेको छ। कोरोना संक्रमणको चपेटामा कलाकार प्रकाश सपूत, केकी अधिकारी लगायत पनि परेका छन्। कोरोना संक्रमणको दर नेपालमा भयावह देखिएको छ।नेपाल समाचारपत्रबाट

Logo