आयल निगमको घाटा २ अर्ब पुग्ने, निषेधाज्ञासँगै बिक्री पनि घट्यो

आयल निगमको घाटा २ अर्ब पुग्ने, निषेधाज्ञासँगै बिक्री पनि घट्यो

केन्द्रबिन्दु
0
Shares

चालू आर्थिक वर्षमा नेपाल आयल निगमले दुई अर्बभन्दा बढीको घाटा व्यहोर्ने भएको छ। पछिल्लो ६ आर्थिक वर्षदेखि नाफामा रहेको निगम यो वर्ष घाटामा जान लागेको हो। 

अन्तर्राष्ट्रिय मूल्यको आधारमा १५–१५ दिनमा हुँदै आएको स्वचालित मूल्य प्रणालीअनुसार मूल्य समायोजन नहुँदा निगम घाटामा गएको हो। अस्थिर राजनीतिक परिवेश र कोभिड-१९ को दोस्रो लहरका कारण नियमअनुसार मूल्य समायोजन नहुँदा निगम घाटा व्यहोर्न बाध्य भएको हो। निगमका निमित्त नायब कार्यकारी निर्देशक नागेन्द्र साहका अनुसार चालू आर्थिक वर्षको वैशाख महिनासम्म निगमले एक अर्बको हाराहारीमा घाटा व्यहोरिसकेको छ। 

अन्तर्राष्ट्रिय बजारमा हुने मूल्य थपघटको आधारमा इन्डियन आयल कर्पोरेसन (आईओसी)ले प्रत्येक १५–१५ दिनमा निगमलाई इन्धनको मूल्यसूची उपलब्ध गराउँदै आएको छ। यही मूल्यसूचीको आधारमा निगमले स्वचालित मूल्य प्रणालीअनुसार इन्धनको उपभोक्ता मूल्य घटाउने अनि बढाउने गर्दै आएको छ। स्वचालित मूल्य प्रणाली कार्यान्वयनकै कारण पछिल्लो ६ वर्षदेखि निगमले नाफा आर्जन गर्दै आएको थियो। 

पछिल्लो समयमा आईओसीबाट प्राप्त मूल्यसूचीको आधारमा निगमले अस्थिर राजनीतिक परिवेश र कोभिड-१९ को दोस्रो लहरको सुरुआतसँग नियमित रूपमा इन्धनको मूल्य समायोजन गरेको छैन। यसले गर्दा निगम घाटामा गएको हो। ‘यही अवस्था कायम रहे यो आर्थिक वर्षमा निगमको घाटा दुई अर्ब पुग्ने हाम्रो प्रक्षेपण छ,’ साहले भने, ‘यो घाटा दर आर्थिक वर्षको अन्त्यतिर भएको हो। गत् पुस अघिसम्म निगम नाफामै थियो। पुसयता नियमित रूपमा मूल्य समायोजन नहुँदा निगम नोक्सानीमा गएको हो।’ अर्कोतर्फ प्रतिलिटरमा चार रुपैयाँ बढ्दा त्यसमध्ये दुई रुपैयाँ मात्रै समायोजन हुँदा पनि घाटा बढेको हो। 

चालू आर्थिक वर्षको मंसिरसम्म निगम करिब तीन अर्ब नाफामा थियो। त्यसयता प्रत्येक महिना निगमले नोक्सानी व्यहोर्दै आएको छ। अहिले पनि निगमले घाटामा पेट्रोलियम पदार्थ बिक्री गर्न बाध्य छ। निगमले वैशाख १९ मा विज्ञप्ति जारी गरी नयाँ खरिद मूल्य बढेर आएको तर कोभिडका कारण समस्यामा परेका जनतालाई राहत दिने उद्देश्यले मूल्यमा हेरफेर नगरिएको जनाएको थियो। निगमका अनुसार अहिले पेट्रोलमा ८.७६ रुपैयाँ र डिजेलमा ३.४२ रुपैयाँ प्रतिलिटर तथा खाना पकाउने एलपी ग्यासमा ३ सय ७५.१३ रुपैयाँ प्रतिसिलिन्डर घाटामा बिक्री गरिरहेको छ। 

बिक्री घट्यो
निगमका प्रवक्ता विनितमणि उपाध्यायका अनुसार कोभिड-१९ को संक्रमणलाई नियन्त्रण गर्न सरकारले पछिल्लो पटक लागू गरेको निषेधाज्ञाले पेट्रोलियम पदार्थको बिक्री दरसमेत घटेर निगमलाई थप घाटा हुने औंल्याइएको छ। सामान्य समयमा २ हजार ५ सय किलोलिटर पेट्रोल र डिजेलतर्फ ७ हजार किलोलिटरको कारोबार भइरहेको थियो। तर निषेधाज्ञाका कारण अहिले पेट्रोलतर्फ ६० ले बिक्री घटेर एक हजार किलोलिटर र डिजेलतर्फ ५० प्रतिशतले बिक्री घटेर चार हजार किलोलिटर बिक्री भइरहेको छ।  बिक्री दर घटेर पनि निगमलाई अहिले नोक्सानी दर बढेको छ। खपत दर घटेपछि निगममे साताको तीन दिनमात्रै डिपो खोलेर इन्धन वितरण गर्दै आएको छ।अन्नपूर्णबाट

Skip This
Skip This
Logo