अघिल्लो वर्षको लकडाउनमा राजधानीमा तरकारीको मूल्य निकै घटेको थियो । सर्वसाधारणले यसपालि पनि त्यही सोचेका थिए । तर, भयो उल्टो । यसबीच उपभोक्ता ठग्न पल्किएका कालो बजारियाले यसपालि साबिकभन्दा बढाएका छन् ।
गाउँमा किसानले मूल्य पाएका छैनन् । तरकारी कुहेका र फालिएका छन् । कौडीका भाउमा उठाएर ल्याउने व्यापारीले सहरमा उपभोक्तालाई निचोरेर मूल्य लिइरहेका छन् । यसको वास्तविक अनुगमन भएको भने पाइएको छैन ।
खाद्यान्न र अन्य उपभोग्य वस्तुको हालत उस्तै छ। महामारीलाई दुरुपयोग गर्दै सबैजसो सामानको अस्वाभाविक र असामयिक मूल्य बढेको छ। बजारमा अहिले माग घटेको छ। यस्तो अवस्थामा मूल्य घट्नुपर्ने हो। तर, अत्यधिक नाफा खाने मोहमा झन् बढाइएको छ। यो छाडापनमा राज्य भने मौन बसेको छ। महामारीका कारण उत्पन्न संकटलाई मौकाको फाइदा उठाउँदै कार्टेलिङ र कालोबजारीका कारण मूल्य र गुणस्तरमा सर्वसाधारण ठगिनुका साथै महँगीको मारमा परेका हुन् ।
निषेधाज्ञापछि स्वास्थ्य उपचार, औषधि, दैनिक उपभोग्यका सामग्री खाद्यान्न, इन्धन, तरकारीलगायतमा चर्को मूल्यवृद्धि गरी आम उपभोक्तालाई सकेसम्म यस्ता समूहले उखु निचोरेजस्तै निचोरेका छन्। सरकारको कमजोर नीतिका कारण बजारमा यस्तो अवस्था सिर्जना भएको उपभोक्तावादीहरूले औंल्याएका छन् ।
स्वास्थ्य उपचारका लागि अस्पतालमा भर्ना हुने बिरामीबाट हजारौंदेखि लाखौं रुपैयाँसम्म स्वास्थ्य संस्थाले असुल गर्दै आएका छन् । नक्कली औषधिमा सक्कली औषधिको लेबल लगाएर बिक्री वितरण हुँदै आएको छ । औषधिको कृत्रिम अभाव सिर्जना गरी ५ हजार पर्नेलाई २५ हजारदेखि ५० हजार रुपैयाँसम्म असुल गर्ने क्रम रोकिएको छैन । यस्तै कालोबजारी र कार्टेलिङको अवस्था दैनिक उपभोग्य वस्तुतर्फ पनि सिर्जना भएको छ । कोभिडका कारण महामारी फैलिएर संकट निम्तिएको समयमा व्यापारीले मिलोमतो गरी दैनिक उपभोग्य वस्तुतर्फ ५ देखि २५ प्रतिशत मूल्यवृद्धि गरेका छन् । टोलटोलमा भएका स–साना खुद्रा पसलले आफूखुसी अतिरिक्त मूल्य थप गरी दैनिक उपभोग्य वस्तु बिक्री गरेका कारण संकटको समयमा आम उपभोक्ता ठगिएका छन् ।
निषेधाज्ञा लाग्नुअघि प्रतिलिटर सनफ्लावरको मूल्य २ सय २० देखि २ सय ३० सम्म थियो । अहिले यसको मूल्य बढाएर २ सय ६० रुपैयाँ पुर्याइएको छ। २ सय १० प्रतिलिटर रहेको तोरी तेलको मूल्य अहिले २ सय ५०, २ सय ३५ रुपैयाँ रहेको भटमास तेलको मूल्य २ सय ५० रुपैयाँ कायम गरिएको छ । ‘हामीले मूल्य बढाएका छैनौं,’ मानन्धरले भने, ‘ठूला व्यापारीबाट मूल्य बढेर आएका कारण सबैजसो दैनिक उपभोग्य वस्तुको मूल्य बढेको हो। टोलैपिच्छे खुद्रा पसलमा यस्ता वस्तुमा झन् १० देखि २५ रुपैयाँ वृद्धि गरी उपभोक्तालाई ठगिएको छ।’
संघका अनुसार प्रत्येक जातको चामलको प्रतिबोरामा न्यूनतम ५० देखि १ सय ५० रुपैयाँसम्म मूल्यवृद्धि भएको छ । १ हजार ६ सय ५० रुपैयाँ पर्ने प्रतिबोरा जिरा मसिनोलाई १ हजार ७ सयदेखि १ हजार ८ सय, २ हजार २ सय ५० पर्ने पोखरेली चामललाई २ हजार ४ सय रुपैयाँ, २ हजार ४ सय ५० पर्ने लङ्ग ग्रेनको प्रतिबोरालाई २ हजार ५ सय ५० रुपैयाँ मूल्य तोकिएको छ। यस्तै १ हजार ५ सय पर्ने सोना मन्सुलीलाई अहिले १ हजार ६ सय ५० रुपैयाँ तोकिएको छ। त्यस्तै चिनीको मूल्य पनि उकालो लागेको छ । निषेधाज्ञा अघिसम्म प्रतिकिलो ८५ देखि ९० रुपैयाँमा बिक्री भइरहेको चिनीको मूल्य अहिले ९५ देखि १ सय रुपैयाँ पुगेको छ।अन्नपूर्णबाट





























प्रतिक्रिया