एमालेको कार्यदलले सहमतिको मस्यौदा बनाउने र प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता गराएर पार्टी विवाद समाधानको प्रयास सुरु गरेको छ ।
कार्यदल ब्युँताउने र त्यहाँ बन्ने सहमतिको मस्यौदामा मात्रै वार्ता गर्ने नेपालको सर्त ओलीले स्वीकार गरेपछि कार्यदलले औपचारिक गृहकार्य थालेको हो । संसद् विघटनसम्बन्धी मुद्दाको सुनुवाइ सकिएर फैसलाको पर्खाइ भएकै वेला एमालेमा सहमतिको नयाँ अध्याय सुरु भएको हो ।
आइतबार दोस्रो तहका नेताहरूले ओली र नेपाललाई भेट गराएर सहमति जुटेका विषयमा संयुक्त विज्ञप्ति निकाल्ने कोशिस गरेका थिए । तर, नेपालले कार्यदल ब्युँताउने र त्यहाँ बन्ने सहमतिको मस्यौदामा मात्रै वार्ता गर्ने अडान राखेपछि ओली–नेपाल भेट र संयुक्त विज्ञप्तिको प्रयास असफल भएको थियो । यद्यपि, त्यसपछि पनि कार्यदल सदस्यहरू भने अनौपचारिक संवादमा थिए ।
त्यसैअनुसार ओली र नेपालपक्षीय नेता भीम रावलबीच आइतबार राति बालुवाटारमा वार्ता भएको थियो । सोही वार्तामा ओली कार्यदल ब्युँताउन तयारका थिए । कार्यदल ब्युँताएर र सहमतिको मस्यौदा बनाउन जिम्मा दिन ओली तयार भएलगत्तै सोमबार कार्यदलको बैठक बसेको थियो ।
बैठकमा सहमतिको मस्यौदा कोर्ने र तुरुन्तै ओली–नेपाल भेटवार्ता गराउने गृहकार्य सुरु भएको सदस्यहरूले बताएका छन् । ‘हामीले आफ्नोतर्फबाट केही काम गरेका छौँ, छिट्टै नै ओली–नेपालबीच भेटवार्ता होला,’ कार्यदलका एक सदस्यले नयाँ पत्रिकासँग भने, ‘कार्यदलले काम थालेपछि एउटा आधार र विश्वास तयार भएको छ ।’
अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधव नेपालको निर्देशनअनुसार सहमतिको मस्यौदालाई अन्तिम रूप दिने उद्देश्यले डेढ महिनादेखि निष्क्रिय दश सदस्यीय कार्यदल ब्युँताएर सोमबारबाट सक्रिय बनाइएको छ ।
यससँगै पार्टी संस्थापनबाट कारबाहीमा परेका उपाध्यक्ष भीमबहादुर रावलले वरिष्ठ नेता नेपाल पक्षबाट सहमतिको मस्यौदालाई अन्तिम रूप दिने कामको नेतृत्व सम्हालेका छन् । रावलको प्रवेशसँगै दुवैतर्फका दोस्रो तहका नेताहरूले अनौपचारिक छलफलबाट तयार पारेको तीन बुँदे सहमतिको मस्यौदालाई अन्तिम रूप दिने गरी छलफल अगाडि बढेको कार्यदलको बैठकमा सहभागी नेताहरूले बताएका छन् ।
सोमबारको बैठकमा यसबीचमा दोस्रो तहका नेताहरूबीच अनौपचारिक तहमा भएका समझदारीबारे रिपोर्टिङ भएको र मंगलबार टुंग्याउन बाँकी विषयमा समझदारी जुटाउन छलफल केन्द्रित हुने उनीहरूको भनाइ छ ।
‘कार्यदलमा विभिन्न चरणमा भएका अनौपचारिक बैठकका प्रगतिलाई रिपोर्टिङ गर्ने काम भएको छ, मंगलबार सहमति हुन बाँकी रहेका एकाध विषयमा विषयगत ढंगले छलफल गर्ने समझदारीसहित अत्यन्त सकारात्मक र हार्दिकतापूर्वक संवाद गरेर आज बैठक स्थगन गरिएको छ,’ बैठकपछि नेपाल पक्षबाट कार्यदलमा रहेका गोकर्ण विष्टले भने ।
अहिलेसम्म पार्टीलाई २ जेठ ०७५ सम्मको सांगठनिक संरचनाबाट अगाडि बढाउने, सर्वोच्च अदालतमा दायर रिटका फैसलालाई मानेर जाने विषयमा समझदारी जुटेको उनीहरूले दाबी गर्दै आएका छन् । रिटमा नेपाल पक्षबाट भएको हस्ताक्षरको विषय टुंग्याउने सन्दर्भमा सर्वोच्चले जे फैसला गर्छ, त्यसलाई दुवै पक्षले मान्ने र त्यसपछि पार्टीको संस्थागत निर्णयलाई आधार मानेर अगाडि बढ्नेलगायतका विकल्पमा उनीहरूबीच छलफल हुँदै आएको छ ।
सचिव विष्टले सर्वोच्च अदालतमा दायर रिटमा भएको हस्ताक्षर र अन्य एकाध विषय मात्र टुंगो लाग्न बाँकी रहेको बताए । ‘सर्वोच्च अदालतमा दायर रिटमा गरिएको हस्ताक्षरबाहेक अरू एकाध विषय छन् । तर, अरू विषयहरू एकदम सहमतिनजिक छ, त्यस्तो धेरै मिलाउनुपर्ने खासै विषय नै छैन भन्दा पनि हुन्छ,’ विष्टले भने, ‘लामो ग्यापमा बैठक बसेका कारण पहिल्यै दिन धेरै कुराभन्दा पनि अहिलेसम्मका सकारात्मक प्रगतिको मात्र चर्चा भयो ।’
प्रधानमन्त्री ओलीले सोमबार साँझ ५ बजेभित्र माओवादीसँग मिलेर कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने वरिष्ठ नेता नेपालसहित २३ सांसदलाई हस्ताक्षर फिर्ता लिन अल्टिमेटम दिएका थिए । उनले हस्ताक्षर फिर्ता नलिए पार्टी फुटको घोषणा हुने चेतावनी दिए पनि नेपाल पक्ष टस न मसको अवस्थामा पुगेपछि अन्ततः ओली हस्ताक्षर फिर्तैविना कार्यदल ब्युँताएर सहमति खोज्न तयार भएपछि छलफल अगाडि बढेको हो । तर, कार्यदल ब्युँतिएपछिको बैठक रिटमा भएको हस्ताक्षर फिर्ता गर्ने अल्टिमेटमबारे कुनै चर्चा नभएको नेताहरूले बताएका छन् । ‘त्यसबारे बैठकमा कुनै चर्चा नै भएन,’ विष्टले भने ।
पार्टीलाई पूर्ण रूपमा २ जेठ ०७५ मा नफर्काइएको भन्दै नेपाल पक्षले बिहीबार र शुक्रबार डाकिएको केन्द्रीय कमिटी बैठक बहिष्कार गरेपछि प्रधानमन्त्री ओलीले पार्टी एकताका लागि हस्ताक्षर फिर्ता लिन चेतावनी दिएका थिए । नयाँ पत्रिका दैनिकमा समाचार छ ।





























प्रतिक्रिया