बाँदर धपाउने ड्युटीः बिहानै आउँछन्, साँझ परेपछि फर्कन्छन्

बाँदर धपाउने ड्युटीः बिहानै आउँछन्, साँझ परेपछि फर्कन्छन्

केन्द्रबिन्दु
0
Shares

कालिका नगरपालिका–९ द्रब्यटारका १० वर्षीय विपन चेपाङको काम हिजोआज बाँदर धपाउने हो। उनी बिहान बाँदर लखेट्न गुलेली लिएर बस्छन्। मकै खान आउने बाँदरलाई गुलेली हानेर लखेट्छन्। एकैछिन आँखा छल्यो कि बाँदरले मकै खाइहाल्छ। 

‘कुरेर नबसे बाँदरले मकै खाइदिन्छ अनि हामीले खान पाउँदैन’, उनले भने, ‘बिहानै आएर साँझ परेपछि फर्कने हो।’

विपन मात्र होइन, यहाँका हरेक परिवारका एक जना बाँदर धपाउन खटिन्छन्। माथि स्याउला हालेर घाम छेक्न बनाएको टाँड प्रायः सबैका बारीमा भेटिन्छ। बाँदरलाई तर्साउन थोत्रा लुगाको पुत्ला बनाएर राखेका छन्। 

गुलेली वा थाल बजाएर बाँदर लखेट्नुपर्छ। नभए मकैजति बाँदरले खाइदिन्छ। मिहेनत गरेर लगाएको अन्न खाने बेला बाँदरले नष्ट गर्न लागेपछि किसान चिन्तित छन्। बाँदरबाट कसरी जोगाउने होला भन्ने पिरलो छ। चेपाङहरू मकै खाने आशमा बाली कुरेर बसेका छन्। अबको आधा वर्ष त्यसैले  परिवारको छाक टार्नुपर्छ। मकै घरमा भित्र्याउन पाइँदैन कि भन्ने चिन्ता छ। 

कतिपयले बाँदर लखेट्न कुकुर पालेका छन्। बिहान ६ बजेदेखि साँझसम्म बाँदर कुर्नुपर्छ। प्रायः अभिभावक काम गर्न जान्छन्। घरका बालबालिकाको काम बाँदर धपाउनु हो। बाँदर कुर्न परिवारमा पालो लगाउँछन्। 

सरला चेपाङ दिदीबहिनी पनि पालो लगाएर बाँदर कुर्छन्। नभए वर्षभरि अन्नको अभाव भोग्नुपर्छ। ‘एकै छिन हेरेन भने बारीभरी बाँदर हुन्छ’, उनले भनिन्, ‘जति बेला पनि मकैमा आँखा लगाउनुपर्छ।’ 

फागुनदेखि चेपाङको घरमा अन्न छैन। अनिकालबाट जोगिन जंगलबाट गिठ्ठा र भ्याकुर खोजेर छाक टारे। कोरोना भाइरस संक्रमणको जोखिमले निषेधाज्ञा लगाएपछि मजदुरी गर्न पाएनन्। राहतले केही दिन खान पाए। अब अनिकाल टार्ने भनेको मकै नै हो। कालिका–१० देउजरका अर्जेल चेपाङले पनि बाँदरले सताउने गरेको बताए। दुःख गरेर अलि–अलि भएको मकै पनि बाँदरले खाएर हैरान बनाएको गुनासो उनले गरे।  ‘कहिलेकाहीँ घरभित्रै पसेर सताउँछ’, उनले भने, ‘जति नै कुरे पनि आधि बाँदरलाई आधि हामीलाई हो।’ अन्नपूर्णबाट

Logo