ढकढक्याउँदै तेस्रो लहर, दैनिक संक्रमण १० दिनमा दोब्बर

ढकढक्याउँदै तेस्रो लहर, दैनिक संक्रमण १० दिनमा दोब्बर

केन्द्रबिन्दु
0
Shares

नेपालमा पछिल्लो समय दैनिक कोरोना संक्रमण साउन १० गते २२ सयमा झरेको थियो। त्यसपछिको अवधिमा भने झन्डै दोब्बर बढेको छ। बिहीबार ३ हजार ९ सय ३८ जनामा संक्रमण देखिएको छ। यही अवधिमा बुधबार सबैभन्दा बढी ४ हजार १ सय ७ जनामा कोरोना पुष्टि भयो। 

स्वयं परीक्षण गर्न जाँदा पनि यत्रो संख्यामा दैनिक संक्रमण पुष्टि भइरहेको छ। यो अवस्थालाई विज्ञहरूले कोरोना संक्रमणको तेस्रो लहरको सुरुवाती संकेतका रूपमा लिइरहेका छन्। 

सक्रिय संक्रमितको संख्या फेरि ३४ हजार ४ सय २२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। तीमध्ये ३१ हजार १ सय ८ जना होम आइसोलेसनमा छन्। संस्थागत आइसोलेसनमा उपचाररत रहनेको संख्या ३ हजार ३ सय १४ छ। १ सय ५८ जना भेन्टिलेटरमा उपचाररत छन्। त्यस्तै  ७ सय १३ जना सघन उपचार कक्ष (आईसीयू)मा उपचाररत छन्। 

मन्त्रालयले आगामी पाँच महिनाभित्र १ लाख ९३ हजार ८ सय ५६ जना संक्रमित थपिने प्रक्षेपण गरेको छ। जसमध्ये ३८ हजार ७ सय ७१ जनालाई उपचार सेवा आवश्यक पर्ने देखिन्छ। ९ हजार ६ सय ९३ जनालाई सघन उपचार (आईसीयू) आवश्यक पर्न सक्ने सम्भावना रहेको मन्त्रालयले जनाएको छ। 

साउनमा ५३ हजार ३ सय ७, भदौमा ४५ हजार ७ सय २६, असोजमा ३८ हजार ५ सय ९७, कात्तिकमा ३१ हजार ४४ र मसिंरमा २५ हजार १ सय ८३ संक्रमित थपिने मन्त्रालयद्वारा प्रक्षेपित तथ्यांकमा उल्लेख छ। मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखाका प्रमुख डा. गुणराज लोहनीले कोरोना संक्रमणको यो प्रक्षेपण  बिहीबार प्रतिनिधिसभाको स्वास्थ्य तथा शिक्षा समितिमा प्रस्तुत गरेका हुन्।

जनस्वास्थ्य विज्ञ डा. बाबुराम मरासिनी तीज आसपास कोरोना संक्रमणको उचाइ अग्लिँदै जाने आकलन गर्छन्। भन्छन्, ‘अहिलेको माहोल र अवस्था हेर्दा चाडपर्वको आगमनसँगै संक्रमणले पनि बिस्तारै उचाइ लिन्छ।’

काठमाडौं उपत्यकामा रहेका कोभिड–१९ युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल), शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, सशस्त्र प्रहरी बल अस्पताल, शिक्षण अस्पताल महराजगन्ज र पाटन अस्पतालमा  संक्रमितहरू भर्ना हुने क्रम बढेको छ। 

अहिले भइरहेको पीसीआर/एन्टिजेन परीक्षण ‘प्यासिभ’ भएकाले संक्रमितको संख्या धेरै नदेखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका पूर्वप्रमुख विशेषज्ञ डा. सुशीलनाथ प्याकुरेल बताउँछन्। ‘लक्षण भएका वा शंका लागेर आएका व्यक्तिको मात्र परीक्षण गरिएको छ। बिरामी आफैं खुसीले आएपछि गरिएको परीक्षण प्यासिभ टेस्टिङ हो’, डा. प्याकुरेल भन्छन्, ‘घर–घरमा गएर एक्टिभ टेस्टिङ गर्ने हो भने संक्रमितको संख्या झन् बढ्छ।’अन्नपूर्णबाट

Skip This
Skip This
Logo