शिक्षक सेवा आयोगले असोजबाट शिक्षकको पदपूर्ति प्रक्रिया अगाडि बढाउने

शिक्षक सेवा आयोगले असोजबाट शिक्षकको पदपूर्ति प्रक्रिया अगाडि बढाउने

केन्द्रबिन्दु
0
Shares

शिक्षक सेवा आयोगले असोज पहिलो साताभित्र नयाँ शिक्षकको पदपूर्ति प्रक्रिया अगाडि बढाउने भएको छ। झन्डै १५ हजारको हाराहारीमा नयाँ जनशक्ति शिक्षण पेसामा भित्र्याउने गरी शिक्षक पदपूर्तिको प्रक्रिया अगाडि बढाइने भएको हो।

शिक्षक सेवा आयोगका नवनियुक्त अध्यक्ष मधु रेग्मीले ढिलामा पनि असोज पहिलो सातासम्म शिक्षकको नयाँ पदपूर्ति गर्ने हिसाबले आफूहरू अगाडि बढेको जानकारी दिए।

आयोगले पदपूर्ति प्रक्रिया अगाडि बढाउन शिक्षा तथा मानव स्रोत विकास केन्द्रलाई देशभरका सार्वजनिक विद्यालयमा शिक्षकको रिक्त दरबन्दीको विवरण अद्यावधिक गरिदिन अनुरोध गरेको छ ।

केन्द्रले शिक्षक सेवा आयोगलाई गत चैत मसान्तसम्मको रिक्त शिक्षकको विवरण पठाएको भए पनि पछिल्लो विवरणसमेत थप गर्न भनिएको आयोगले जनाएको छ। आयोगको आग्रहपछि केन्द्रले आगामी भदौ १० सम्म रिक्त विवरण पठाउन जिल्लाका शिक्षा विकास तथा समन्वय एकाइलाई परिपत्र गरेको छ। अध्यक्ष रेग्मीले चैत मसान्तसम्म १२ हजार शिक्षकको दरबन्दी रिक्त रहेको विवरण आयोगमा प्राप्त भएको जानकारी दिए। हरेक दिनजसो शिक्षकहरू सेवानिवृत्त हुने भएकाले बढीमा १५ हजारसम्म शिक्षक दरबन्दी रिक्त भएको हुनसक्ने आयोगको अनुमान छ।

सार्वजनिक विद्यालयको प्राथमिक, निम्न माध्यमिक र माध्यमिक तहमा गरी अब यी दरबन्दीको पूर्ति हुनेछ। चार वर्षपछि शिक्षण सेवामा नयाँ शिक्षकको पदपूर्ति हुन लागेको हो।

यसअघि २०७४ सालमा आयोगले नयाँ शिक्षकको पदपूर्ति गरेको थियो। यसपटक अस्थायी शिक्षकको व्यवस्थापन गर्नुपर्ने अवस्था नरहेकाले सबै पदपूर्ति खुला तरिकाले हुने जनाइएको छ।

संविधानले नेपालको विद्यालय तहको शिक्षा प्रणालीलाई आधारभूत र माध्यमिक तहका रूपमा परिभाषित गरे पनि कानुनतः अझै विद्यालय शिक्षाको शिक्षकको पदपूर्ति भने पुरानै हिसाबले भइरहेको छ। पुरानै कानुनअनुसार प्रावि, निमावि, मावि तहकै हिसाबले शिक्षकको पदपूर्ति प्रक्रिया अघि बढाइने जानकारी अध्यक्ष रेग्मीले दिए।

आयोगका अनुसार प्रावि तहको जिल्ला र निमावि तथा मावि तहका शिक्षकको प्रदेशगत हिसाबले विज्ञापन गरिनेछ। निमावि र मावि तहमा विषयगत हिसाबले विज्ञापन गरिन्छ भने प्रावि तहमा भने विषय छुट्याइँदैन।गाेरखापत्रबाट

Logo