नेकपा एमालेबाट अलग हुन माधवकुमार नेपालसहितका नेताले नयाँ दल दर्ता प्रक्रिया अघि बढाए पनि पार्टीभित्रको आन्तरिक कलह जारी रहने भएको छ ।
पार्टी अध्यक्ष केपी ओलीको कार्यशैलीप्रति असन्तुष्ट नेता नेपालसहितले बुधबार नयाँ दल दर्ता प्रक्रिया सुरु गरेका छन् । तर, एमालेको नवौं महाधिवेशनदेखि नेपाललाई साथ दिँदै आएका प्रभावशाली नेताहरूले नयाँ दल दर्ता प्रक्रियामा भने उनलाई साथ दिएका छैनन् ।
ती नेताहरू पार्टी एकताको पक्षमा भन्दै ओली र नेपाल दुवै पक्षबाट अलग देखिएका छन् । ओली र नेपाल दुवैले आ–आफ्नो बाटो समाउने तयारी गरेपछि थप दबाबमा परेका उनीहरूले शुक्रबार राजधानीमा भेला गर्दै पार्टी एकताका लागि दबाब बढाएका छन् ।
उनीहरूले अध्यक्ष ओलीलाई नेपालसहित प्रतिनिधिसभाका १४ सदस्यमाथि कारबाहीका लागि गरिएको सिफारिस फिर्ता लिएर विवाद समाधानका लागि १०बुँदे समझदारी कार्यान्वयन गर्न आग्रह गरेका छन् । नेता नेपाललाई पनि नयाँ पार्टी दर्ताको प्रक्रिया स्थगन गरेर एकताको पक्षमा आउन उनीहरूले आग्रह गरेका छन् ।
केन्द्रीय कमिटीका सदस्य र सांसदको भेलाले दुई दिनभित्र १० बुँदे समझदारी अक्षरशः कार्यान्वयन गर्न अध्यक्ष ओलीलाई आग्रह गरेको छ । १० बुँदेसँगै सहायक डकुमेन्टका रूपमा माइन्युट गरिएको जनाउँदै बैठकमा सहभागी एक नेताले भने, ‘त्यसअनुसार तत्काल २०७५ जेठ २ गतेअघिको स्थायी कमिटीको बैठक बोलाएर १० बुँदे समझदारी अनुमोदनपछि माओवादी केन्द्रबाट आएका र १० प्रतिशत केन्द्रीय सदस्य थप गरेर अर्को बैठक बोलाउनु पर्छ ।’
तर, अध्यक्ष ओलीले दुई दिनभित्र १० बुँदे समझदारी कार्यान्वयन गर्ने सम्भावना कम रहेको उनीहरूको बुझाइ छ । त्यसमा पनि २०७५ जेठ २ गतेअघिको स्थायी कमिटी बैठक बोलाएर उनीहरूले भनेजस्तो पार्टी एकता जोगाउन अध्यक्ष ओली लचिलो नबने असन्तुष्टभित्रका पनि असन्तुष्ट नेताहरू थप दबाबमा पर्ने एक नेताको बुझाइ छ ।
‘दुवै नेताहरू (ओली र नेपाल) ले आआफ्नो बाटो समाइसक्नुभयो,’ बैठकमा सहभागी ती नेताले भने, ‘दुवै आआफ्नो अडानमा अडिए पार्टी एकताको पक्षमा कहिलेसम्म कराउने, हाम्रा लागि पनि चुनौती छ ।’ नागरिक दैनिकमा समाचार छ ।































प्रतिक्रिया