मासु नखाए पनि मनाइन्छ दसैं, यस्तो छ साकाहारीहरूको दसैं अनुभव

मासु नखाए पनि मनाइन्छ दसैं, यस्तो छ साकाहारीहरूको दसैं अनुभव


दसैं र मासुको अन्योन्याश्रित सम्बन्ध छ। अर्थात, मासु विनाको दसैंको सायदै कल्पना गरिएला। तर, मासु नखाने साकाहारीले दसैंमा के खान्छन् होला ? कसरी रमाइलो मान्छन् होला ? 

कांग्रेस नेता कृष्णप्रसाद सिटौला भन्छन्, ‘हाम्रो परिवार नै  सात्विक हो। भेजिटेरियन खानेकुरा खाएर दसैं मनाउँछौं।’ सिटौला माछा मासु त परै जाओस्, लसुन, प्याज पनि खाँदैनन्। 

दसैं भन्नेबित्तिकै अधिकांशले मासुका विशेष परिकार पकाएर खाने गर्छन्। राँगा, बोका, कुखुरा, हाँस आदिको बली दिने प्रचलन पनि छ। तर, पछिल्लो समयमा दसैंमा सात्विक भोजन खाएर रमाउनेको संख्या पनि बढ्दैछ। निर्देशक तथा निर्मात दीपाश्री निरौलाले मासु खान छोडेको २३ वर्ष बढी  भइसक्यो। उनी कसैलाई हिंसा गरेर रमाइलो गर्न नहुने बताउँछिन्। ‘दसैं आयो, तिमीहरूलाई त के रमाइलो हुन्छ, भनेर धेरैले मलाई भन्नुहुन्छ,’ उनले भनिन्, तर, त्यस्तो हुँदैन। दसैं भनेको मासु खाने मात्र पर्व होइन। यो त आशीर्वाद लिने पर्व पनि हो।’ 

अर्का कलाकार दीपकराज गिरि पनि साकाहारी हुन्। पहिला उनलाई मासु नभई खाना रुच्थेन। ‘अहिले भने त्यस्तो छैन, उनले भने, ‘घरमा मैले बनाउने होइन। जे पाक्छ, त्यही खान्छु।’ 

दसैंलाई साकाहारी रूपमा मनाउने अर्का नायक हुन्, दिलीप रायमाझी। दिलीपले अहिलेसम्म मासु खाएका छैनन्। सिजन अनुसारकै तरकारी खान उनलाई मन पर्छ। ‘दसैं भनेर मेरो त्यस्तो खास केही हुन्न, उनले भने, ‘अरु समय खाएको जस्तै सिजन अनुसारको तरकारीहरू नै खाइन्छ।’ 

दसैंमा मासु खानुको सट्टा हरियो सागपात, फलफूल, गेडागुडी, दूध दही आदि परिकार खाएर दसैं मनाउनेहरूमध्ये पर्छिन्, ललितपुर इमाडोलकी इन्दिरा अधिकारी। उनी विगत एक वर्षदेखि आफू साकाहारी भएको बताउँछिन्। दसैं मनाउने सन्दर्भमा उनले भनिन्, ‘मेरो घरपरिवार सबै साकाहारी छौं। गत वर्ष र यसपालिको दसैंमा बोकाको बली नदिएर त्यसको सट्टामा नरिवलको प्रसाद बाँड्ने बिचार छ। घरमा मिठामिठा सात्विक खानेकुरामा रमाउने हो।’ 

यस्तै दसैंमा स्वास्थ्यको दृष्टिले पनि साकाहारी भोजन गर्नु उपयुक्त भएको बताउँछिन्, भरतपुर चितवनकी सुनिता अधिकारी। उनी भन्छिन्, ‘दसैं पवित्र चाड भएकाले यसलाई पवित्र रूपमा नै मनाउनुपर्ने हो, उनले भनिन्, ‘स्वास्थ्यका दृष्टिकोणले पनि उपयुक्त छैन।’ त्यसैले स्वस्थ फलफूल, तरकारी र अन्न प्रयोग गर्नु नै दसैंका लागि सान्दर्भिक हुने उनको भनाइ छ।

‘दसैंमा मासुको सट्टा केही विशेष खानेकुरा खान सकिन्छ,’ झापाकी तारा बस्नेत भन्छिन्, ‘दसैंमा सात्विक परिकारमा तरकारी, फलफूलका साथै पनिरका विभिन्न परिकारहरू उपयुक्त हुन्छन्। जसमा मटर पनिर, पालक पनिर, तोफु आदि हुन सक्छन्।’

दसैंलाई हिंसारहित,  सद्भावपूर्ण, स्वस्थकर र उल्लासमय मनाउँदा आनन्दको बेग्लै अनुभूति हुने उनी बताउँछिन्। मासु र मदिराबिना पनि दसैंलाई दसैंजस्तो बनाउन सकिन्छ भन्नेहरू पनि छन्। शुक्ला गण्डकी नगरपालिका तनहुँ वडा नम्बर १ निवासी रमेश गुरुङ २०५५ सालदेखि साकाहारी भएका हुन्। ‘आफू मांशाहारी हुँदा र साकाहारी भएपछिको दसैंमा त्यति फरक छैन,’ उनले भने, ‘साकाहारी भएपछिको दसैं झन् रमाइलो लाग्न थालेको छ।’ 

तनहुँका कृष्ण गुरुङजस्तै पुतलीसडक काठमाडौंकी रिमा भण्डारी पनि साकाहारी हुन्।अन्नपूर्णबाट

Logo