मंसिर १ बाट विद्युतीय राहदानी परीक्षण

मंसिर १ बाट विद्युतीय राहदानी परीक्षण

केन्द्रबिन्दु
0
Shares

आउँदो मंसिर १ गतेदेखि विद्युतीय राहदानीको परीक्षण वितरण सुरु गरिने भएको छ। आउँदो अङ्ग्रेजी नयाँ वर्षदेखि नेपालमा औपचारिक रूपमा प्रचलनमा ल्याउन लागिएकाले त्यसैको तयारी स्वरूप परीक्षण वितरण सुरु गर्न थालिएको राहदानी विभागले जनाएको छ।

अघिल्लो महिनादेखि नै परीक्षण वितरण सुरु गर्ने भनिए पनि बीचमा परेको चाडका कारण एक महिना ढिला गरी विद्युतीय राहदानीको परीक्षण सुरु हुन लागेको हो। विभागका महानिर्देशक डोरनाथ अर्यालका अनुसार परीक्षण सकिए लगत्तै सन् २०२२ को जनवरी महिनाको पहिलो सातादेखि नै विद्युतीय राहदानी प्रचलनमा ल्याउने तयारी विभागको रहेको छ।

मंसिर १ गतेदेखि केही हप्ता विभागबाटै परीक्षणको विद्युतीय राहदानी वितरण गरिने योजना रहेको विभागका निर्देशक तथा प्रवक्ता शरदराज अरनले बताए। त्यसपछि औपचारिक वितरण सुरु भएसँगै प्रदेश तथा जिल्लास्तरमा विद्युतीय राहदानी वितरण गरिनेछ। त्यसका लागि यतिबेला विभाग अन्तिम तयारीमा जुटेको छ। अरनका अनुसार विद्युतीय राहदानी वितरणका लागि प्राविधिक तथा प्रशासनिक सबै खालको तयारी अन्तिम चरणमा रहेको छ।

गत वर्षको सेप्टेम्बर महिनामा फ्रान्सेली कम्पनीसँग सम्झौता गरेर विद्युतीय राहदानी उत्पादन अघि बढाइएको थियो। गत वर्षको डिसेम्बर २३ मा करिब साढे दुई अर्ब रुपियाँ लागतको सम्झौता विद्युतीय राहदानीका लागि भएको थियो। गोरखापत्र दैनिकबाट

Logo