कोरोना सङ्क्रमण सुरु भएयता कृषि क्षेत्र तथा लघु, घरेलु तथा साना उद्योगमा बढेको आकर्षणसँगै सहुलियतपूर्ण कर्जा प्रवाह पनि बढेको छ। चालू आर्थिक वर्षको कात्तिक मसान्तसम्ममा दुई खर्ब पाँच अर्ब दुई करोड रुपैंयाँ सहुलियतपूर्ण कर्जा प्रवाह भएको छ।
नेपाल राष्ट्र बैङ्कका अनुसार चालू आर्थिक वर्षको कात्तिक मसान्तसम्ममा एक लाख ३३ हजार ९३० ऋणीलाई सहुलियतपूर्ण कर्जा प्रवाह भएको छ। यसमध्ये कृषि तथा पशुपन्छी व्यवसाय कर्जाअन्तर्गत ५५ हजार ११६ ऋणीलाई प्रवाह भएको एक खर्ब ३० अर्ब २३ करोड रुपियाँ रहेको छ भने महिला उद्यमशील कर्जा अन्तर्गत ७६ हजार २० महिला उद्यमीलाई ७१ अर्ब १५ करोड रुपियाँ प्रवाह भएको छ।
कृषिजन्य उत्पादनमा मुलुकलाई आत्मनिर्भर गराउँदै खाद्य सुरक्षा र सम्प्रभुता कायम गर्दै लैजाने सरकारले योजना बनाइरहँदा कोरोना सङ्क्रमणयता कृषिजन्य उत्पादन पनि बढ्दो क्रममा छ।
कोरोना भाइरसको सम्भावित जोखिमलाई मध्यनजर गर्दै दुई वर्षअघि चैत ११ गतेदेखि सरकारले अवलम्बन गरेको लकडाउनपछि बढ्दै गएको स्थानीय कृषिजन्य उत्पादन त्यसमा पनि तरकारीको बजारीकरण बढेको छ।
सहुलियतपूर्ण कर्जाका अन्य शीर्षकअन्तर्गत दुई हजार ७९४ ऋणीको तीन अर्ब ६४ करोड कर्जा बक्यौता रहेको छ। चालू आर्थिक वर्षको कात्तिक मसान्तमा मात्रै एक खर्ब २० अर्ब ११ करोड रुपैंयाँ पुनर्कर्जाका लागि लगानीमा रहेको छ।
यस्तै ‘व्यवसायिक निरन्तरता कर्जा प्रवाह कार्यविधि २०७७’ बमोजिम कोभिड–१९ प्रभावित पर्यटन र घरेलु, साना तथा मझौला उद्यम क्षेत्रको व्यवसाय निरन्तरतामा सहयोग पुर्याउन ती क्षेत्रका श्रमिक तथा कर्मचारीको पारिश्रमिक भुक्तानीका लागि व्यवस्था गरिएको कर्जा २०७८ कात्तिक मसान्तसम्ममा एक अर्ब सात करोड स्वीकृत भएको छ।
निजी क्षेत्रमा कर्जा ८.९ प्रतिशतले वृद्धि
बैङ्क तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जा पनि ८.९ प्रतिशतले बढेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा ४.९ प्रतिशतले बढेको थियो। वार्षिक बिन्दुगत आधारमा २०७८ कात्तिक मसान्तमा बैङ्क तथा वित्तीय संस्थाबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ३२.२ प्रतिशतले बढेको छ।गाेरखापत्रबाट





























प्रतिक्रिया