बैंक तथा वित्तीय संस्थाहरुमा एक दिनमै ७ अर्ब निक्षेप थपिएको छ। नेपाल राष्ट्र बैंकका अनुसार माघ १२ र १३ गतेको बीचमा बैंकहरुमा यो रकम जम्मा भएको हो। एक दिनमा ७ अर्ब रुपैयाँ निक्षेप संकलन भएको भएपनि तरलता सहज यो वर्षभरी नै नहुने बैंकरहरुको भनाइ छ।
अहिले पनि बैंकहरुमा तरलता अभाव नै रहेको एक बैंकरले जानकारी दिए। एक दिनमा ७ अर्ब बैंकहरुमा निक्षेप थपिएको भएपनि तरलता सहज हुन अझै समय लाग्ने ती बैंकरले बताए। ‘अहिले पनि सिडि रेसियो ९० प्रतिशतभन्दा माथि छ। अहिले त्यतिधेरै डिपोजिट बढिसकेको अवस्था हैन । २७ वटा वाणिज्य बैंकहरुमा ७ अर्ब थपिनु कुनै ठूलो कुरा हैन’, उनले भने । रेमिट्यान्स घट्दै गएकाले पनि तरलतामा प्रत्यक्ष प्रभाव पर्ने गरेको ती बैंकरले बताए।
१३ गतेसम्म बैंकहरुमा ४८ खर्ब ५८ अर्ब रुपैयाँ निक्षेप संकलन भएको छ। जम्मा भएको निक्षेपमध्ये वाणिज्य बैंकहरुको ४३ खर्ब १ अर्ब रहेको राष्ट्र बैंकले जनाएको छ। बाँकी निक्षेप विकास बैंक र फाइनान्स कम्पनीहरुको रहेको छ।
बैंकहरुमा निक्षेप बढ्दै गएपछि कर्जा र निक्षेपको अनुपात (सिडी रेसियो) मा पनि सुधार देखिएको छ। माघ १२ गते ९० दशमलव ६० प्रतिशत पुगेको सिडी रेसियो १३ गते शून्य दशमलव १२ विन्दुले घटेको छ। राष्ट्र बैंकले वेवसाइडमा राखेको तथ्यांक अनुसार १३ गते सिडी रेसियो घटेर ९० दशमलव ४८ प्रतिशत कायम भएको छ।
राष्ट्र बैंकले वेबसाइटमा सिडि रेसियो वाणिज्य बैंकहरुको मात्र राखेको छ। सिडी रेसियो भनेको बैंकहरुले संकलन गर्ने निक्षेप र प्रवाह गर्ने कर्जाबीचको अनुपात हो। सिडि रेसियो बढ्दै गएर ९० प्रतिशतभन्दा माथि पुग्यो भने बैंकहरु ऋण दिन नसक्ने अवस्थामा छन् भन्ने बुझिन्छ। बैंकहरु ऋण दिने अवस्थामा नआउनुलाई तरलता अभाव (क्रेडिट क्रन्च) भनिन्छ।
यसरी कर्जा प्रवाह निक्षेपको तुलनामा बढ्दै गएपछि राष्ट्र बैंकले मौद्रिक नीति २०७८/ ७९ मा वाणिज्य बैंकले आगामी असार मसान्तसम्म सिडि रेसियो ९० प्रतिशतभन्दा तल झार्नुपर्ने व्यवस्था गरिदिएको छ।
त्यस्तै अहिले तरलता स्थिर अवस्थामा रहेको भएपनि सहज हुन समय लाग्ने अर्का बैंकरले बताए। अहिलेकै अवस्था रहिरहने हो भने आगामी दिनमा पनि तरलता सहज हुने कुनै छाटकाँट नदेखिएको उनको भनाइ छ।
‘तरलता अहिले नबिग्रिएको अवस्था हो। जुन हिसाबले स्थिति बिग्रिदै गएको थियो, सरकारले स्थानीय तहमा पठाउने रकम ५० प्रतिशतलाई बढाएर ८० प्रतिशत बनाएपछि सिडी रेसियोलाई ट्रयाकमा ल्याइयो । त्यसबीचमा सिडी रेसियो घटेर ९० प्रतिशत तल झरेको थियो । फेरि सिडी रेसियो ९० प्रतिशतमाथि पुगेको छ। पहिला जस्तो क्रेडिट ग्रोथ भएको अवस्था छैन्,’ उनले भने ।
यो आर्थिक वर्षमा तरलता सहज भएर बैंकको ब्याजदर घट्ने कुनै संकेत नरहेको उनले बताए । बैंकको ब्याजदर नघटे व्यापार/ व्यवसायलगायत शेयर बजारमा प्रभाव पर्ने लगानीकर्ताहरू बताउँछन्।अभियान दैनिकबाट





























प्रतिक्रिया