जाडो बढेसँगै विद्युतको माग हालसम्मकै उच्च, भारतबाट ४५८ मेगावाट आयात

जाडो बढेसँगै विद्युतको माग हालसम्मकै उच्च, भारतबाट ४५८ मेगावाट आयात

केन्द्रबिन्दु
0
Shares

चिसो बढेसँगै विद्युत माग हालसम्मकै उच्च बिन्दुमा पुगेको छ। यसैहप्ता परेको पानी र हिउँका कारण विद्युतको माग एक हजार ७१० मेगावाट पुगेको हाे। विद्युतको बढ्दो माग पूरा गर्न आन्तरिक उत्पादन अपुग भएपछि नेपाल विद्युत प्राधिकरणले भारतबाट ४५८ मेगावाट विद्युत आयात गर्दै आएको जनाएको छ।

११ हजार मेगावाट आवरवेसमा रहेर विद्युत आयात गरेर माग पूर्ति गर्दै आएको प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले जानकारी दिए। डिमाण्ड बढ्दै गए पनि आन्तरिक उत्पादन बृद्धि भएकाले कम विद्युत आयात गर्नुपरेको उनले बताए। यसै हिउँदमा ५२ मेगावाटको लिखु, २४ मेगावाटको अपर लिखु, ११ मेगावाटको खहरे खोलाबाट गरि ८७ मेगावाट विद्युत आन्तरिक उत्पादन बृद्धि भएको प्रवक्ता भट्टराईले बताए। प्राधिकरणले हिउँदको डिमाण्ड पूर्ति गर्न कुलेखानी जलाशयबाट एक सय मेगावाट विद्युत उत्पादन गर्दै आएको छ।

अघिल्ला वर्षहरुको तुलनामा हिउँदमा पनि आन्तरिक उत्पादन वृद्धि भएर एक हजार २५० मेगावाट पुगेको प्राधिकरणले जनाएको छ। उत्पादनसँगै डिमाण्ड बढेपछि प्राधिकरणले विद्युत आपूर्तिका लागि भारतबाट आयात गर्नुपरेको जनाएको छ। 

४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशीबाट विद्युत उत्पादनपछि बर्खा मौसममा भने विद्युत डिमाण्डभन्दा पाँच सय मेगावाट विद्युत बढी भएर खेर जाने गरेको थियो। प्राधिकरणले बर्खा मौसममा उत्पादन भई प्रयोग नभएको विद्युत भारतलाई विक्री गरि हिउँद मौसममा भारतबाट खरिद गर्ने गरि सम्झौता गरिसकेको छ।

हिउँद मौसममा विद्युत उत्पादन वृद्धि गर्न प्राधिकरणले जलाशययुक्त आयोजना निर्माणमा जोड दिएको जनाएको छ। उत्पादनसँगै वितरण प्रभावकारी बनाएर खपत बृद्धि गर्ने गरि प्राधिकरणले काम अघि बढाएको प्रवक्ता भट्टराईले जानकारी दिए। अधिकांश आयोजनाहरुमा पानीको सतह कम भएसँगै विद्युत उत्पादन ६० प्रतिशतभन्दा कम उत्पादन हुने गरेको प्राधिकरणले जनाएको छ। गत वर्षको हिउँद मौसममा एक हजार तीन सय मेगावाट विद्युत माग रहे पनि यस वर्ष एक हजार ७१० मेगावाट विद्युत डिमाण्ड भएको प्राधिकरणले जनाएको छ।गाेरखापत्रबाट

Logo