नयाँ आर्थिक वर्ष सुरु भएसँगै बढेको मुद्रास्फीति रसिया र युक्रेनबीचको युद्धका कारण दोहोरो अंकमा पुग्ने आँकलन अर्थविद्हरूले गरेका छन् । कोरोनापछिको आर्थिक क्रियाकलापले वस्तु तथा सेवाको माग तथा पेट्रोलियम पदार्थको मूल्यमा भएको वृद्धिसँगै चुलिएको मुद्रास्फीतिमा दुई देशबीचको तनावले आगोमा घिउ थप्ने काम गर्ने अनुमान गरिएको हो।
नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षमा ७ प्रतिशतभन्दा तल मुद्रास्फीति कायम गर्ने लक्ष्य राखेको छ। राष्ट्र बैंकको तथ्यांकअनुसार गत मंसिरमा ७.११ प्रतिशत तथा पुसमा ५.६५ प्रतिशत मुद्रास्फीति रहेको थियो।
तर, जलवायु परिवर्तन, भू–राजनीति, आर्थिक गतिविधिमा भएको विस्तार आदिका कारण मूल्यमा निकै चाप पर्ने देखिएको नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक नरबहादुर थापाले बताए। उनका अनुसार मूल्यवृद्धि दोहोरो अंकको आसपासमा पुग्ने देखिएको छ।
“कृषि उपजमा जलवायु परिवर्तनको प्रभाव पर्दा उत्पादक तथा आपूर्तिकर्ता मुलुकहरूमा त्यसको असर परिरहेको छ। तेल, दलहन तथा गहुँको उत्पादन र आपूर्तिलाई पनि जलवायु परिवर्तनको असरले असहज बनाएको देखिन्छ,” उनले भने । त्यसमाथि जलवायु परिवर्तनको सन्दर्भमा गरिएका प्रतिवद्धता र बाध्यताले पनि मुद्रास्फीतिमा थप प्रभाव पारेको थापाको तर्क छ।
अर्थविद् प्रा.डा. विश्वम्भर प्याकुरेल पनि मुद्रास्फीतिले दोहोरो अंक छुने बताउँछन् ।
ओमिक्रोनको कहरपछि अनियन्त्रित भइरहेको मूल्य वृद्धिलाई युक्रेन र रुसको युद्धले थप प्रभावित बनाउने उनको तर्क छ। “अहिले अर्थतन्त्र पुनरुत्थान भइरहेको समयमा स्वभावैले माग बढ्छ। माग बढेपछि मूल्य वृद्धि पनि हुन्छ । तर, नेपालको बजार अनियन्त्रित हुँदा आर्थिक परिसूचकहरू ढलमलाएर बजार अराजक भइरहेको छ,” उनले भने ।
युद्ध हुनुभन्दा अगाडि नै हरेक महिना पेट्रोलियम पदार्थको मूल्य वृद्धि भइरहेको अवस्थामा रुसमाथि विभिन्न प्रतिवन्ध लगाइँदा त्यसको असर मूल्य वृद्धिमा पर्ने उनी बताउँछन्। “युरोपियन युनियनमा रुसबाट मात्रै ४० प्रतिशत ग्यास आयात हुन्छ। युद्धले त्यसलाई प्रभावित पारेको छ। त्यसमाथि युद्धका कारण रुसका बैंकहरूलाई ‘स्विफ्ट’मा प्रतिवन्ध लगाइएको छ। रुसले गर्ने डलरको कारोबार पनि बन्द गरेका कारण डलरको गतिविधिमा रोक लागेको छ र त्यसले अर्थतन्त्रमा गहिरो प्रभाव पार्ने देखिएको छ,” उनले भने ।काराेबारबाट





























प्रतिक्रिया