नेपाल कम्युनिस्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीको जितलाई गठबन्धनले रोक्न नसक्ने दाबी गरेका छन्। शनिबार राजधानीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले यस्तो दाबी गरेका हुन्। उनले भने– ‘हाम्राविरुद्ध गठबन्धन बनाइएको छ। मनोवैज्ञानिक त्रास कतै साथीहरूमा छ भने छाडिदिए हुन्छ, यो गठबन्धन केही पनि होइन। स्यालहरूले मोर्चा कसेर हात्तीको शिकार गर्न सक्दैनन्।’
कार्यक्रममा अध्यक्ष ओलीले वृद्ध भत्ताको व्यवस्था एमालेले गरेको जिकिर गर्दै ज्येष्ठ नागरिकको हिसाबले देउवाले सूर्यमा भोट हाल्नुपर्ने तर्क गर्दै भने– ‘शेरबहादुर देउवा आफैं कांग्रेसमा किन छन् भन्दा बुढा भएर पनि हो। उहाँलाई ४ हजार भत्ता के गर्नु, छँदैछ, नत्र भने शेरबहादुर देउवा पनि लौरो टेकेर एमालेमा आउँथे।’ प्रधानमन्त्री देउवालाई व्यंग्य गर्दै उनले भने– ‘म भन्न चाहन्छु, कमसेकम ज्येष्ठ नागरिक हो। तपाईं पनि सूर्य चिह्नमा अरूले देख्ने गरि भोट हाल्नुहोस्।’
उनले कांग्रेससँग कुनै एजेन्डा नभएकाले आगामी निर्वाचनमा १३ सिटमा झार्नुपर्ने टिप्पणी गर्दै भने–‘पाँच वर्षअघि बुढो कांग्रेस २३ सिटमा झरेको होइन ?’ ओलीले चुनावमा सत्ता गठबन्धनमा रहेका दल र तीनका नेता कार्यकर्ताले गडबड गर्नसक्ने भन्दै मतपेटिकामा विशेष ध्यान दिन पनि कार्यकर्ताहरूलाई निर्देशन दिए। स्थानीय तहको चुनावको असाधारण महत्व रहेको जिकिर गर्दै अध्यक्ष ओलीले स्थानीय तहको चुनाव एमालेले जित्नु जरुरी रहेको बताए।नेपाल समाचारपत्रबाट





























प्रतिक्रिया