६ वटै महानगरमा कांग्रेसले तालमेल नगर्ने

६ वटै महानगरमा कांग्रेसले तालमेल नगर्ने


सत्तारूढ पाँच दलले देशैभर स्थानीय तह निर्वाचनका लागि तालमेलको मोडालिटी बनाउँदै गर्दा नेपाली कांग्रेसको महानगर कार्यसमिति भने धमाधम तालमेलको विपक्षमा उभिएका छन्।

देशका ६ वटै महानगर कार्यसमिति र महानगरका वडा समितिहरू नेपाली कांग्रेसको केन्द्रीय नेतृत्वले गरेको तालमेलको निर्णयप्रति असन्तुष्ट छन्। उनीहरू कुनै हालतमा पनि केन्द्रले थोपर्ने तालमेलको निर्णयविरुद्ध उत्रने तयारीमा छन्।

२०७४ सालमा सम्पन्न स्थानीय तह निर्वाचनमा ६ महानगरपालिकामध्ये कांग्रेसले विराटनगर र ललितपुर महानगरपालिकामा जित हात पारेको थियो । वीरगंज महानगरमा जसपा, पोखरा र काठमाडौंमा नेकपा एमाले तथा भरतपुरमा नेकपा माओवादी केन्द्रका उम्मेदवार निर्वाचित भएका थिए।

यसपटक भरतपुर महानगरपालिकामा कांग्रेस कुनै हालतमा अरू दलसँग तालमेल गरेर महानगरको प्रमुख पद छाड्ने पक्षमा छैन। भरतपुर महानगरमा शनिबार केही क्रियाशील सदस्य तथा साधारण सदस्यहरूले तालमेलविरुद्धमा पार्टी परित्याग गर्नेसम्मको घोषणा नै गरिसकेका छन्।

यसैगरी वीरगंज महानगरपालिकामा पनि कांग्रेस प्रमुख पद छाडेर अरू दलसँग तालमेल गर्ने पक्षमा छैन भने काठमाडौं महानगरसमेत नेतृत्व छाडेर अन्य दलसँग चुनावी तालमेल गर्ने पक्षमा छैन। यस्तै, पोखरा र विराटनगर महानगरमा पनि कांग्रेस स्थानीय तह निर्वाचनमा तालमेलको विपक्षमा छ ।

कांग्रेस काठमाडौं महानगर कार्यसमितिका सचिव सुसन वैद्यले काठमाडौं महानगरमा कांग्रेस कुनै दलसँग तालमेल नगरी एक्लै चुनावी मैदानमा उत्रने निर्णय गरेको जानकारी दिए ।

‘काठमाडौं महानगरमा कांग्रेस चुनावी तालमेलको पक्षमा छैन, महानगर कार्यसमितिको बैठकमा कार्यसमितिका सबैको राय एक्लै चुनावी मैदानमा उत्रिनुपर्छ भन्ने आएको छ, हामी त्यहीअनुसार अघि बढ्छौं,’ काठमाडौं महानगर कांग्रेसका सचिव वैद्यले भने।

कांग्रेस भरतपुर महानगर कार्यसमितिका सभापति राजेश्वर खनालले भरतपुरमा कांग्रेसले कुनै दलसँग तालमेल नगर्ने बताए ।

‘भरतपुरमा कांग्रेसले कुनै दलसँग तालमेल गर्दैन, हाम्रो निर्णय यही हो, भरतपुर महानगरका सबै वडाबाट कांग्रेस एक्लै चुनावमा उत्रने निर्णय भइसकेको छ, महानगर कार्यसमितिको निर्णय पनि त्यही हो,’ भरतपुर महानगर कांग्रेसका सभापति खनालले भने ।

कांग्रेस पोखरा महानगरका नेता गंगाधर पराजुलीले पोखरा महानगरपालिकामा पनि कांग्रेसले कुनै दलसँग तालमेल नगर्ने निर्णय गरेको जानकारी दिए ।

ललितपुर र विराटनगर महानगरपालिकामा यसअघि नै जित हात पारेको कांग्रेसले तालमेल हुँदासमेत ती महानगरमा नेतृत्व छाड्ने पक्षमा छैन । विराटनगर महानगर कार्यसमितिले कुनै पनि पदमा अन्य दललाई भाग नदिने निर्णय नै गरिसकेको छ।

वीरगंज महानगरपालिकामा यसअघि जसपाले प्रमुख पदमा जित हात पारेको भए पनि यसपटक कांग्रेस र जसपाबीचमा नै प्रतिस्पर्धा हुने देखिएको छ। पर्सा कांग्रेसले शनिबार वीरगंज महानगरमा मित्रवत् प्रतिस्पर्धा गर्ने निर्णय नै गरिसकेको छ।

गठबन्धन आबद्ध कांग्रेस, माओवादी केन्द्र, नेकपा एस, जसपा र राष्ट्रिय जनमोर्चा आबद्ध सत्ता गठबन्धनका शीर्ष नेताहरूले भने साझेदार दलले जितेका पालिका उनीहरूले नै पाउने र एमालेले जितेका पालिकामा भागबन्डा गर्ने गरि सैद्धान्तिक सहमति गरिसकेका छन्। त्यहीअनुसार ६ महानगरमा भागबन्डा गर्दा ललितपुर र विराटनगर कांग्रेस, भरतपुर माओवादी केन्द्र, वीरगन्ज जनता समाजवादी पार्टी (जसपा)ले पाउने तय छ। एमालेले जितेका काठमाडौं र पोखरामा भने भागबन्डा हुनेछ।

काठमाडौंमा कांग्रेसले छाड्ने सम्भावना कम छ। सकेसम्म पोखरामा पनि प्रमुख आफैं राखेर उपप्रमुखसम्ममा गठबन्धन साझेदारलाई ल्याउने कांग्रेसको तयारी छ। राजधानीबाट

Logo