२८ देशका ७६ सैनिक तालिम गर्न नेपालमा

२८ देशका ७६ सैनिक तालिम गर्न नेपालमा


भारत, चीन र अमेरिकासहित विभिन्न २८ देशका ७६ सैनिक नेपालमा तालिम तथा प्रशिक्षण गरीरहेका छन्  । 

नेपाली सेनाले यो वर्ष २८ देशका ७६ सैनिकलाई एउटा कलेज र चार तालिम केन्द्ररशिक्षालयमा तालिमको अवसर दिएको छ । नेपाली सैनिक कलेज तथा तालिम शिक्षालयमा भारत र पाकिस्तान एवं अमेरिका र चीनका सैनिक एकैसाथ अध्ययन गरिरहेका छन् ।

भारत र पाकिस्तान, भारत र चीन तथा चीन र अमेरिकी सेनाबीच दुस्मनीपूर्ण सम्बन्ध छ । तर, नेपाली सेनाले ती देशका सैनिक अधिकारीलाई एकै ठाउँमा राखेर तालिम तथा प्रशिक्षण चलाउँदै आएको छ । यसले रक्षा मामलामा नेपालको तटस्थ छवि बनाएको सैनिक अधिकारीहरू बताउँछन् । अमेरिका, चीन, बेलायत र भारतजस्ता शक्तिराष्ट्रका सेनालाई प्रशिक्षण दिएर नेपाली सेनाले आफ्नो कौशलता पनि देखाएको छ । 

नेपाली सैनिक कलेज तथा तालिम शिक्षालयमा भारत र पाकिस्तान एवं अमेरिका र चीनका सैनिक एकैसाथ अध्ययन गरिरहेका छन् । नेपाली सेनाले यो वर्ष २८ देशका ७६ सैनिकलाई एउटा कलेज र चार तालिम केन्द्ररशिक्षालयमा तालिमको अवसर दिएको छ । सेनाको वार कलेज नगरकोटमा भने विदेशीलाई हायर कमान्ड कोर्समा सहभागी गराएको छैन । 

शिवपुरीस्थित सैनिक कमान्ड तथा स्टाफ कलेजमा भारत, बंगलादेश, पाकिस्तान, माल्दिभ्स, मलेसिया, श्रीलंका, दक्षिण कोरिया, अमेरिका, बेलायत, केन्या, नाइजेरियाबाट नियमित रूपमा एक–एकजना सैनिक सहभागी भइरहेको सैनिक प्रवक्ता नारायण सिलवालले जानकारी दिए । नेपाली सैनिक प्रतिष्ठान खरिपाटीमा अधिकृत क्याडेट तालिमका लागि जाम्बिया, बंगलादेश, श्रीलंका र माल्दिभ्सबाट नियमित रूपमा एक–एकजना सहभागी भइरहेका छन् ।

यसबाहेक प्यारा तालिम शिक्षालय छाउनीमा प्यारा बेसिक तालिममा पनि विदेशी सैनिक सहभागी छन् । सेनाले बंगलादेश, चीन, क्यानडा, अमेरिका, भारत, लेबनान, माल्दिभ्स, मेक्सिको, पाकिस्तान, रुस, दक्षिण कोरिया र श्रीलंकाका एक–एक सैनिकका लागि कोटा छुट्याएको छ । तर, यो तालिममा बंगलादेश, पाकिस्तान, श्रीलंका र माल्दिभ्सबाट मात्रै सैनिक सहभागी छन् । 

अमलेखगन्जस्थित प्रतिविद्रोह तथा जंगल वारफेयर शिक्षालयमा पनि सेनाले विदेशीलाई तालिम दिँदै आएको छ । यसका लागि बंगलादेश, क्यानडा, चीन, अमेरिका, भारत, बेलायत, श्रीलंका, दक्षिण कोरिया, पाकिस्तान, केन्या, मेक्सिको र म्यानमारलाई सेनाले कोटा दिएको छ । यीमध्ये बंगलादेश, अमेरिका, श्रीलंका, दक्षिण कोरिया र पाकिस्तानबाट मात्रै नियमित रूपमा तालिममा एक–एकजना सैनिक सहभागी भएका छन् । 

मुस्ताङको सैनिक उच्च शिखर शिक्षालयमा सेनाले विदेशीलाई हाई अल्टिच्युट तथा माउन्टेन वारफेयर तालिम दिँदै आएको छ । यसका लागि सेनाले भारत, चीन, अमेरिका, बंगलादेश, क्यानडा, जर्जिया, इजरायल, लेबनान, पाकिस्तान, माल्दिभ्स, पोल्यान्ड, रुस, दक्षिण कोरिया, श्रीलंका, स्विट्जरल्यान्ड, थाइल्यान्डका सैनिकलाई अवसर दिएको छ । अमेरिका, दक्षिण कोरिया, बंगलादेश, पाकिस्तान र श्रीलंकाबाट मात्रै नियमित रूपमा सैनिक यो तालिममा सहभागी हुँदै आएका छन् । 

नयाँ पत्रिका 

Logo