कीर्तिमानी आरोही कामीरिता २८औं पटक सगरमाथाकाे चुचुरोमा

कीर्तिमानी आरोही कामीरिता २८औं पटक सगरमाथाकाे चुचुरोमा

केन्द्रबिन्दु
0
Shares

कीर्तिमानी आरोही कामीरिता शेर्पा २८औं पटक सर्वोच्च शिखर सगरमाथा आरोहण गरेका छन् । सेभेन समिट ट्रेक्स प्रालिका अनुसार मंगलबार बिहान ९ बजेर २० मिनेटमा सगरमाथाको चुचुरोमा पुगेर कामीरिताले सगरमाथामा सबैभन्दा धेरैपटक पुग्ने कीर्तिमान कायम गरेका हुन् । 

सोलुखुम्बुको कीर्तिमानी आरोही कामीरिताले यसअघि जेठ ३ गते सगरमाथाको २७औं पटक सफल आरोहण गरेका थिए । सोलुखुम्बुकै पाङबोचेका पासाङ दावा शेर्पाले उनको २७औं रेकर्ड बराबरी गर्दै गत साता सगरमाथा आरोहण गरेका थिए । योसँगै सगरमाथामा सर्वाधिक आरोहण गर्नेको संख्या दुई पुगेको थियो ।  

२ दशकभन्दा लामो समयमा विश्वका अग्ला हिमशिखर चढेका कामीरिताको आरोहण यात्रा भने सन् १९९२ बाट सुरु भएको थियो । सोलुखुम्बुको थामेमा सन् १९७० मा जन्मिएका कामिरिताले २२ वर्ष हुँदादेखि हिमाल चढ्न थालेको तथ्याङ्क छ। सगरमाथाको चुचुरोमा भने उनी पहिलोपटक सन् १९९४ मा २४ वर्षको हुँदा पुगेका थिए।

कामिरिताले यसअघि सन् २००९, २०१०, २०१३ र २०१९ मा पनि एकै याममा दुई पटक सगरमाथा आरोहण गरेका थिए । उनले सगरमाथासँगै विश्वकै दोस्रो अग्लो हिमाल के टू, चोयू, ल्होत्से र मकालुलगायतका हिमाल आरोहण गरेका पनि छन् ।

यस वर्षको वसन्त ऋतुमा पाँच सय बढीले सगरमाथाको आरोहण गरिसकेका छन् । मौसमले साथ दिएकाले अहिले सगरमाथालगायत हिमालमा उत्साहबर्द्धक रूपमा आरोहण भइरहेको बताइएको छ । यस वर्ष वसन्त ऋतुमा सगरमाथा आरोहण गर्न इतिहासकै सर्वाधिक बढी आरोहीले अनुमति लिएका छन् ।

Logo