एनटीपी मल्टीमिडिया ग्रुपले ताप्लेजुङ-दार्चुला बाइक टूर गर्ने भएको छ ।
मंगलवार काठमाडौंमा पत्रकार सम्मेलन मार्फत नेपाल टूरिजम प्रोमोसन टूर (ताप्लेजुङ–दार्चुला)का संयोजक विष्णु विवेकले नेपालको पर्यटन प्रवद्र्धनका लागि युवा पत्रकार तथा कलाकारको टोली जेठ १० गतेदेखि २५ गतेसम्म बाइक टूर गर्ने जानकारी दिएका हुन् ।
उनले भने, ‘नेपालको पर्यटन प्रवद्र्धनका लागि युवा पत्रकार तथा कलाकारको टोली जेठ १० गतेदेखि २५ गतेसम्म ’ताप्लेजुङ–दार्चुला पर्यटन प्रवद्र्धन टूर’ गर्दैछन् । एनटीपी मल्टीमिडिया ग्रुपको संयोजनमा पूर्वदेखि पश्चिमसम्मका मुख्य पर्यटकीय गन्तव्यहरुको थप प्रचारप्रसार र पर्यटन प्रवद्र्धनका लागि सामूहिक प्रयासस्वरुप ताप्लेजुङ–दार्चुला बाइक टूर गर्न लागिएको हो ।’
पाँच वटा बाइकमा १० जनाको टिमले गर्ने टूरको लागि नेपाल पर्यटन बोर्ड, नेपाल एशोसिएसन अफ टूर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा), होटल एशोसिएसन अफ नेपाल (हान) र नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) सँग सहकार्य गरिएको छ ।
जेठ १० गतेदेखि सुरु हुने टूर अन्तर्गत काठमाडौंदेखि मध्यपहाडी लोकमार्ग भएर सिन्धुली, खोटाङ, भोजपुर हुँदै ताप्लेजुङ पुग्ने र ताप्लेजुङदेखि मेची राजमार्ग हुँदै झापा पुग्ने योजना छ ।
झापादेखि महेन्द्र राजमार्ग हुँदै कञ्चनपुर र कञ्चनपुरदेखि अत्तरिया हुँदै डडेल्धुरा भएर दार्चुला पुग्ने लक्ष्य ग्रुपले लिएको छ । दार्चुलाबाट मध्यपहाडी लोकमार्ग भएर डोटी, अछाम, कालीकोट, दैलेख भएर सुर्खेत सदरमुकाम बीरेन्द्रनगर झर्ने उनीहरुको योजना छ ।
टूरले नेपालको पर्यटन प्रवद्र्धनमा टेवा दिनुका साथै सातै प्रदेशको पर्यटन प्रवद्र्धनमा सरोकारवालाहरुको भूमिकालाई थप सशक्त बनाउने ग्रुपले विश्वास लिएको छ ।





























प्रतिक्रिया