आज अभियोजन दर्ता गर्ने तयारी

आज अभियोजन दर्ता गर्ने तयारी

केन्द्रबिन्दु
0
Shares

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १६ जनाविरुद्ध आज अदालतमा अभियोजन दर्ता हुने भएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौँले नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रलोभन देखाएर करोडौँ रकम ठगी गरेको घटनाको अनुसन्धान प्रतिवेदन सोमबार जिल्ला सरकारी वकिलको कार्यालयलाई बुझाएको थियो। प्रहरीको रायकै आधारमा अभियोजन दर्ता हुने कार्यालयका प्रमुख सहन्यायाधीवक्ता अच्युतमणि न्यौपानेले बताएका छन्।

जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले अभियोजनका लागि गठित आठ सदस्यीय समितिले सोमबार बुझाएको रायसहितको प्रतिवेदन अध्ययन गरी अभियोजन दर्ता गर्ने अन्तिम तयारी गरिरहेको छ।

प्रहरीको प्रतिवेदनमा पक्राउ परेका १६ जना र फरार रहेका १७ जनाविरुद्ध मुद्दा चलाउन राय दिइएको काठमाडौँ प्रहरी परिसरका प्रहरी उपरीक्षक सीताराम रिजालले बताएका छन्। प्रहरीले संगठित अपराध र राज्यविरुद्धको अपराधमा मुद्दा चलाउनुपर्ने राय दिएको छ।

शरणार्थी प्रकरणमा नेकपा एमालेका सचिव एवं पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी  पूर्व गृहमन्त्री बालकृष्ण खाण, , तत्कालीन गृहसचिव टेकनारायण पाण्डे, सक्कली भुटानी शरणार्थीका नेता टेकनाथ रिजाल, तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार डा इन्द्रजित राईसहितका १६ जना पक्राउ परेका छन् ।

यसैगरी हज समितिका अध्यक्ष शमशेर मियाँ, पूर्व सभासद आङटावा शेर्पा, पूर्व गृहमन्त्री खाणका स्वकीय नरेन्द्र केसी, टोपबहादुरका छोरा सन्दीप, केशव दुलाल, सानु भण्डारी, सन्देश शर्मा, सागर राई, टङ्क गुरुङ, गोविन्द चौधरी र रामशरण केसी पक्राउ परेका छन् । पूर्वगृहमन्त्री रामबहादुर थापाका छोरा प्रतीक, इन्द्रजित राईका छोरा नीरजसहितका १७ जना अझै फरार छन् ।

पक्राउ परेकालाई पटक-पटक गरी ६० दिनलाई थुनामा राख्न सकिने कानुनी व्यवस्था छ। आज यस प्रकरणमा पहिलो व्यक्तिलाई पक्राउ गरेको ६० दिन पुग्छ। सोही कारण सम्भव भएसम्म आजै अभियोग पत्र दर्ता गर्ने तयारी गरिएको हो।

प्रहरीका अनुसार ठगी, राज्य विरुद्धको अपराध र सङ्गठित ठगीमा मुद्दा चलाउन सकिनेछ। यस घटनामा १ सय १३ जना पीडितले रु २७ करोड ५० लाख बढी ठगी भएको भनी उजुरी दिएका थिए । 

Logo