भेटेरेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रबाट सञ्चालित ‘पशुमा पूर्ण खोप’ कार्यक्रम प्रभावकारी भएको छ। विभिन्न प्रकारका संक्रामक रोग नियन्त्रण तथा निर्मूल पार्न सहयोग पुर्याई उत्पादन वृद्धिमा कार्यक्रम प्रभावकारी बनेको छ ।
तनहुँका १० वटै पालिकामा पशुमा पूर्णखोप कार्यक्रम सञ्चालन भएको छ। खोपका माध्यमबाट पशुधनको सुरक्षा तथा उत्पादन वृद्धिका लागि भेटेरेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रले सबै पालिकाका किसानले पालेका पशुलाई खोप लगाउने अभियान सञ्चालन गरेको प्रमुख डा. बालकुमार श्रेष्ठले जानकारी दिए।
केन्द्रले हालसम्म ३ लाख ५६ हजार ८३५ पशुवस्तुलाई खोप लगाइएको उनले बताए। कार्यक्रमअन्तर्गत पीपीआर २ लाख ३१ हजार ८२२, खोरेत ९३ हजार २१५, चरचरे भ्यागुते ४७ हजार ४८४, स्वाइन फिवर ६१ हजार ९०४, रेबिज १४ हजार ३१७ खोप लगाइएको उनले बताए।
पशुधन सुरक्षाका लागि संक्रामक रोग नियन्त्रणका लागि गाईभैंसीलाई खोरेत, चरचरे, भ्यागुते लगायत रोगको खोप लगाइएको केन्द्र प्रमुख डा. श्रेष्ठले बताए। उनका अनुसार संघ सरकारको पशुसेवा विभाग र गण्डकी प्रदेश सरकारको पशुपक्षी तथा मत्स्य विकास निर्देशानालयको सहयोगमा खोप लगाइएको हो।
‘पशुधन सुरक्षाका लागि किसानका पशु फार्म तथा गोठमा पुगेर पशुचौपायाको तथ्यांक संकलन, खोपकर्ता नियुक्ति र अगुवा किसानसँग अभिमुखीकरण गरी प्राविधिकलाई परिचालन गरेर खोप लगाइएको हो,’ उनले भने, ‘कतिपय पालिकाले नै खोप कार्यक्रम सञ्चालन गरिरहेकाले खोप उपलब्ध गराइएको छ।’































प्रतिक्रिया