पूर्व गृहसचिव पाण्डेको बयान सकियो

पूर्व गृहसचिव पाण्डेको बयान सकियो

केन्द्रबिन्दु
0
Shares

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्व गृहसचिव टेकनारायण पाण्डेको अदालतमा बयान सकिएको छ।

पाण्डेले बुधबार जिल्ला अदालत काठमाडौँमा बयान दिएका थिए। पाण्डेले घटनाको सम्बन्धमा इन्कारी बयान दिएका छन्। बैंक खातामा जम्मा भएको रकमको सम्बन्धमा उनले ऋण बापत प्राप्त भएको बताएका छन्।

पाण्डेले पाण्डेले नक्कली भुटानी शरणार्थीका नाममा असुल गरिएको रकम निजी सुरक्षा गार्ड धर्मराज शाहीमार्फत निजी बैंक खाता जम्मा गर्थे। धर्मराज नेपाल प्रहरीका बरिष्ठ सई हुन्। 

उनले आठ महिनाको अवधिमा एभेरेष्ट बैंकमा रहेको निजी खाता नं. ००१००१०५००००१८ मा आठ पटक रकम जम्मा गराएका थिए। त्यस्तै, हिमाल बैंकमा रहेको उनको अर्को निजी खाता नंं.०२७०४६७२४७००१८ मा तीन पटक रकम जम्मा गराएका थिए। 

उनले धर्मराजमार्फत दुई वटा बैंक खातामा २ मंसिर ०७८ देखि ११ फागुन ०७८ सम्म ८४ लाख ९४ हजार ९७ रुपैयाँ जम्मा गरेका थिए। पाण्डेले उक्त रकम बिचौलिया मध्येकै केशव दुलाल, सन्देश शर्मा र सानु भण्डारीबाट लिने गरेका थिए। 

सोही क्रममा दुलालले एक करोड २४ लाख ५० हजार रुपैयाँ नगदै बुझेका थिए। धन्दाका सम्बन्धमा उनले मुख्य बिचौलिया केशव दुलालसँग एसएमएस(सर्ट मेसेज सर्भिस) मार्फत पनि बाक्लो कुराकानी हुने गर्थाे। 

सरकारी वकिल कार्यालय काठमाडौँले तयार गरेको प्रतिवेदनमा उल्लेखित एमएमएस अनुसार बिचौलिया दुलाललाई सचिव पाण्डेले क्याम्पभित्र र बाहिर रहेका नेपालीलाई शरणार्थी बनाउन आश्वास्थ तुल्याउँदै गरेको देखिन्छ। यसका लागि यूनसिएचआरसँग बैठक बस्ने र त्यसपछि सबै काम हुने जानकारी एसएमएसमार्फत पाण्डेले दुलाललाई दिएका छन्। 

तर,अदालतसँगको बयानमा उनले दुलालसँगको वार्ता पनि इन्कार गरेका छन्। उनले सवै वार्ता भावावेश आएर भएको बयान दिएका छन्। उनीसँगै सानु भण्डारी,गोविन्द्र चौधरी र रामशरण केसीले पनि अदालतमा बयान दिएका थिए। 

त्यसपछि पूर्वगृहमन्त्री रामबहादुर थापा‘बादल’का सुरक्षा सल्लाहकार डा.इन्द्रजीत राईको अदालतमा बयान भएको थियो। उनीहरुले पनि अदालतमा इन्कारी बयान दिएका छन्। 

गत १२ जेठदेखि पक्राउ परेकाविरुद्धको बयान जिल्ला अदालतमा जारी छ। यसक्रममा पक्राउ परेकामध्ये मुख्य बिचौलिया केशव दुलाल,सागर राई,टंक गुरुङ,सन्दीप भण्डारी, लक्ष्मी महर्जनको बयान सकिसकेको छ। 

दुलाल र राईले १२ जेठमा बयान दिएको थिए भने, गुरुङ, भण्डारी र महर्जनको १४ जेठमा बयान दिएका थिए। त्यस्तै,डा.राईले १६ जेठमा बयान दिएका थिए। घटनामा १६ अभियुक्त पक्राउ परेका छन्, १४ फरार छन्।

अनुसन्धानको ६० दिनपछि अभियुक्तविरुद्ध अदालतमा मुद्दा दर्ता भएको थियो। उनीहरुविरुद्ध लिखत किर्ते,राज्यविरुद्धको कसूर, संगठित र ठगि कसूर अन्तर्गत मुद्दा चलाइएको छ। 

उनीहरुविरुद्ध नक्कली शरणार्थीका नाममा ठगि भएको भन्दै एक सय १५ पीडितले उनीहरुविरुद्ध प्रहरीमा उजुरी दिएका छन्। मुद्दामा २८ करोड ८४ लाख रुपैयाँ ठगि भएको भन्दै बिगो दाबी भएको छ।

Logo