पूर्वमन्त्री रायमाझी र खाणसहित १६ जनालाई पुर्पक्षका लागि कारागार पठाउन आदेश

पूर्वमन्त्री रायमाझी र खाणसहित १६ जनालाई पुर्पक्षका लागि कारागार पठाउन आदेश

केन्द्रबिन्दु
0
Shares

नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाणलगायत १६ अभियुक्तलाई मुद्दाको किनारा नलागेसम्म पुर्पक्षका लागि कारागार पठाउन अदालतले आदेश दिएको छ । 

शुक्रबार दुवै पक्षबाट थुनछेक बहस सकिएपछि काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको एकल इजलासले नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउन रचिएको अपराधमा पूर्वमन्त्री रायमाझी र खाणसहित १६ जनालाई पुर्पक्षमा कारागार पठाउन आदेश दिएको हो । 

उनीहरूलाई सुन्धारास्थित केन्द्रीय कारागारमा पठाइने छ ।

उक्त प्रकरणमा प्रहरीले बुझाएको प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिलको कार्यालयले जेठ १० गते जिल्ला अदालत काठमाडौँमा मुद्दा दर्ता गरेको थियो । त्यसपछि आरोपीको बयान सकेर जेठ २१ गतेदेखि थुनछेक बहस सुरु भएको हो । तीन दिन सरकारी वकिल र उजुरीकर्ताका तर्फबाट बहस भएपछि प्रतिवादीका तर्फबाट वकिलहरुले बहस गरेका थिए ।  

प्रहरीले उक्त प्रकरणमा पूर्वगृहमन्त्री खाण, पूर्वउपप्रधानमन्त्री रायमाझी, सोही घटनामा मुछिएर निलम्बनमा परेका नेपाल सरकारका सचिव टेकनारायण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार डा इन्द्रजित राई, भूटानी शरणार्थी नेता टेकनाथ रिजाललगायत १८ जनालाई पक्राउ गरी हिरासतमा राखेको थियाे । 

शरणार्थी प्रकरणमा ३० जनालाई प्रतिवादी बनाएर मुद्दा दर्ता गरिएको थियाे । उनीहरुविरुद्ध कीर्ते, ठगी, सङ्गठित अपराध, एकीकृत कसुरसमेत गरेकाले सोही अनुसार सजायको माग दाबीसहित मुद्दा दर्ता गरिएको थियो । उनीहरुलाई कैदका साथै २८ करोड ८१ लाख बिगोसमेतको माग गरिएको थियाे । उक्त घटनामा अझै १२ जना फरार छन् । 

Logo