काठमाडौं महानगरपालिकाले बालुवाटारस्थित ललिता निवासको जग्गामा बनेका संरचना हटाउन सात दिने अल्टिमेटम दिएको छ ।
आइतबार दिउँसो महानगर प्रहरी प्रमुख राजु पाण्डे नेतृत्वमा बालुवाटारमा पुगेको डेढ सयभन्दा बढीको प्रहरीको टोलीले ललिता निवासअन्तर्गतको सार्वजनिक जग्गा एक हप्तामा खाली गर्नका लागि अल्टिमेटम दिएको हो । उक्त जग्गामा हाल करिब २५ वटा साना टहरा बनाएर गोदामघर, पसल आदि सञ्चालनमा रहेका छन् ।
महानगरले ललिता निवासको सार्वजनिक जग्गामा बनेको सबै अस्थायी संरचना हटाएर कम्पाउण्डिङ गर्ने तयारी गरेको छ । संरचना हटाउन अटेर गरे महानगर प्रहरीले हटाउनेसमेत काठमाडौं महानगर प्रहरी प्रमुख पाण्डेले जानकारी दिए ।
ललिता निवास जग्गा हिनामिना प्रकरणमा सरकारी कागजात किर्ते गरेको आरोपमा हालै प्रहरीले चार जनालाई पक्राउ गर्दै अनुसन्धान थालेको छ । पक्राउ पर्नेमा भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, गोपाल कार्की, पूर्व निर्वाचन आयुक्त सुधीरकुमार शाह, र धर्मप्रसाद गौतम रहेका छन् ।
विसं २०४९ देखि २०६९ सम्ममा सरकारको स्वामित्वमा रहेको बालुवाटारस्थित ललिता निवासको करिब १४३ रोपनी जग्गा विभिन्न व्यक्तिका नाममा नामसारी भएको फेला परेको थियो । सोही प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइबी०ले पनि अनुसन्धान गरिरहेको छ ।





























प्रतिक्रिया