हर्क साम्पाङविरूद्धको रिटमा उच्च अदालतले दिएन अन्तरिम आदेश

हर्क साम्पाङविरूद्धको रिटमा उच्च अदालतले दिएन अन्तरिम आदेश

केन्द्रबिन्दु
0
Shares

धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङविरूद्ध दर्ता भएको रिट निवेदनमा उच्च अदालत विराटनगरले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। 

धरान खानेपानी व्यवस्थापन बोर्ड व्यवस्थित रूपमा अघि बढ्न नसकेको भन्दै दायर रिटमा उच्च अदालत विराटनगरका न्यायाधीशद्वय कृष्ण कमल अधिकारी र मुरारीबावु श्रेष्ठको संयुक्त इजलासले बुधबार अन्तरिम आदेश दिन अस्वीकार गरेको हो। 

बोर्डका अध्यक्षका रूपमा रहेका मेयर साम्पाङ र बोर्ड सचिव राजु पोखरेलविरूद्ध धरान खानेपानी व्यवस्थापन बोर्ड सदस्य तथा स्थानीय उद्योग वाणिज्य संघको तर्फबाट विजय श्रेष्ठले गत जेठ २६ गते रिट निवेदन दर्ता गरेका थिए। आज निवेदकहरूका तर्फबाट अधिवक्ता विनोद कुमार तिमल्सिना तथा विपक्षीहरूका तर्फबाट उपस्थित अधिवक्तादद्वय  रमेश बाँस्तोला, अबइन्द्र निरौला र जेके राई साम्पाङले बहस गरेपछि उक्त आदेश आएको हो । 

‘यस निवेदन हेर्दा तत्काल बैठक बोलाई कार्यकारी समितिको गठनलाई पूर्णता दिनु, कार्यकारी समितिको बैठक नबसी कुनै पनि नीतिगत निर्णय नगर्नू/नगराउनू, वैधानिक तरिकाबाट अध्यक्षको छनोट नहुँदासम्म कसैले पनि अध्यक्ष लेखी काम कारबाही नगर्नू नगराउनू भनी अन्तरिम आदेश जारी गरी पाऊँ भन्ने माग गरेको देखियो।’ आदेशमा भनिएको छ, ‘निवेदकले माग गरेको उल्लेखित विषयमा अन्तरिम आदेश जारी नहुँदा निजलाई अपुरणीय क्षति हुने अवस्था नदेखिएको र विपक्षीको लिखित जवाफ परी अन्तिम सुनुवाइको क्रममा निवेदन माग बमोजिम अन्तरिम आदेश जारी गर्नुपर्ने अवस्था नहुँदा यस अदालतबाट मिति २०८०।२।२६ मा जारी भएको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिइरहनु परेन। कानूनबमोजिम गर्नू’  

Logo