ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका बन्दी प्रत्यक्षीकरणसम्बन्धी रिट निवेदनमा आज सुनुवाइ हुँदैछ।प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआइबी)को हिरासतमा रहेका मिनबहादुर गुरुङ, सुधिरकुमार शाह र धर्मप्रसाद गौतमले आफूलाई रिहा गर्नुपर्ने मागसहित सर्वोच्च अदालतमा रिट निवेदन हालेका थिए।
सुनुवाइका लागि उक्त रिट निवेदन न्यायाधीशद्वय डा.आनन्दमोहन भट्टराई र हरिप्रसाद फुयाँलको संयुक्त इजलासमा पेसी तोकिएको छ। उक्त रिट निवेदन मंगलबार न्यायाधीशद्वय डा.भट्टराई र फुयाँलकै संयुक्त इजलासमा परेको थियो। तर त्यस दिन ‘हेर्न नभ्याइने’ भन्दै अर्को दिनलाई सारिएको थियो।
बिहीबार उक्त रिट निवेदन न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र कुमार रेग्मीको संयुक्त इजलासमा पेसी तोकिएको थियो। तर न्यायाधीश रेग्मी कुनै बेला रिट निवेदन मीनबहादुरका निजी कानुन व्यवसायी रहेका कारण ‘हेर्न नमिल्ने’ भन्दै सुनुवाइ गरिएन।
गत शुक्रबार सोही रिट निवेदनमाथि न्यायाधीश डा. कुमार चुडालको एकल इजलासमा सुनुवाइ हुँदा कारण देखाऊ आदेश जारी भएको थियो। इजलासले निवेदकको माग बमोजिम बन्दी प्रत्यक्षीकरण आदेश किन जारी गर्नु नपर्ने हो भन्ने सन्दर्भमा मनासिब आधार, कारण र प्रमाण भए सो समेत खुलाई बाटोको म्याद बाहेक २४ घण्टाभित्र लिखित जवाफ पेस गर्न गृह मन्त्रालयलाई आदेश दिएको थियो।
रिट निवेदकहरूले हदम्याद कटिसकेको मुद्दामा आफूहरूलाई पक्राउ गरिएको भन्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दिएका हुन्।





























प्रतिक्रिया