हराएको सौन्दर्यमा लाली थप्दै काठमाडौं, कंक्रिटको जंगल फूलबारीको शहर बन्दै

हराएको सौन्दर्यमा लाली थप्दै काठमाडौं, कंक्रिटको जंगल फूलबारीको शहर बन्दै

केन्द्रबिन्दु
0
Shares

कचौरा आकारको काठमाडौंलाई धेरैले प्राकृतिक वातानकुलीत शहर पनि मान्ने गर्छन् । विछट्टै प्राकृतिक आकर्षणले लोभलाग्दो काठमाडौं प्राचीन सम्पदाहरुको कारण पनि छुट्टै परिचय स्थापित गर्न सफल भएको छ । मन्दिर नै मन्दिरको शहरको उपनामले ख्याति कमाएको काठमाडौं कंक्रिटको जंगल र प्रदूषणको कारण बदनामी पनि भोग्यो । तर काठमाडौं अहिले फरक बन्न खोज्दैछ, आफ्नो सौन्दर्यतामा पुनः कसी लगाउन खोज्दैछ । 

ज्याकाराण्डा फूल्ने समयमा काठमाडौं मनमोहक बन्ने गर्छ । शिरिषको फूल फुलेको बेलमा पनि काठमाडौं हेरिरहुँ जस्तो लाग्छ । तर यी भए काठमाडौंमा हरेक बर्ष फूल्ने मौसमी फूलहरु । सबैको सपनाको शहर बनेको काठमाडौं संघीय राजनीतिका कारण पनि यहाँको जनघनत्व बढ्दो छ भने कंक्रिटका घरहरु थपिँदो छ । जस्को कारण विरुप बनेको काठमाडौ पुनः सौन्द्धर्य खोज्न थालेको छ । आफ्नो हराएको वैंशमा पुनः लाली पोत्न थालेको छ । 

अहिले काठमाडौंमा पैदल यात्रीहरुले फरक महसुस गर्न थालेका छन् । जताततै फूलेका फूलहरु र गमलामा सजाइएका धेरै थरीका फूलहरुले काठमाडौँको सुन्दरतामा फरकपन आएको महसुस गर्न थालिएको छ । सडक हिँड्ने यात्रुहरु भन्छन् – 'काठमाडौं फेरियो, सुन्दर बन्यो र बनिरहोस् यस्तै सधैँ ।' 

काठमाडौंका फुटपाथ प्रयोगकर्तालाई अहिले केही समय सडक छेउमै बसौं बसौं लाग्छ, केही समय टोलाउँ फोटो खिचौं जस्तो लाग्न सक्छ । 

काठमाडौंको प्रर्दशनी मार्गमा मात्रै होइन्, यसअघि फटाफट दायाँ बायाँ नहेरी हिँड्नेहरुका आँखा अहिले नचाहेर पनि राजधानीको सडकका किनारामा अडिन्छन् । काठमाडौं महानगरले थालेको शहरको सौन्दर्यीकरण अभियानका कारण अहिले  काठमाडौंका बिजुलीबजार, प्रर्दशनी मार्ग, शंकरदेव लगायतका क्षेत्रका सडक अहिले गमलासहितका फूलले सजिएका छन् । 

संघीय राजधानीसमेत रहेको काठमाडौंलाई सुन्दर बनाउन महानगरपालिकाले सौन्दर्यीकरण गर्ने काम थालेकोमा सबै खुसी छन् । सडक, फुटपाथ र सडकका भित्तालाई आर्कषक र सफा बनाउने काम थालेको महानगरले पछिल्लो समय सडक फुटपाथलाई नै सुन्दर बनाउन गमलाले सजाउन थालेको छ । 

काठमाडौं देशको राजधानी भएको हिसाबले पनि यहाँ मानिसको धेरै चाप रहने गर्दछ । मानिसको साथै घर र वस्तीको पनि उत्तिकै चाप रहने हुनाले काठमाडौंमा हरियाली सायदै देख्न सकिन्छ । हरियालीको अभाव र कंक्रिटको जंगल बन्दै गएको काठमाडौं शहरलाई हरियाली पूर्ण बनाउने अभियानमा महानगरपालिका लागिपरेको छ । 

यसैक्रममा उपत्यकाका विभिन्न स्थानका सडकहरू यतिबेला फूलका गमलाले सजिएका छन् । महानगरपालिकाले शनिबारदेखि उपत्यकाका विभिन्न स्थानमा रंगीचंगी फूलका गमलाहरू राखेर व्यस्त शहरलाई केही समयको विश्राम र सुन्दरता दिने प्रयास गरेको छ । 

शहरलाई स्वच्छ, सफा र हरियाली बनाउने हो भने यसमा महानगरको मात्रै प्रयासले हुदैँन् । यसमा स्थानीयदेखि सडक प्रयोगकर्ता लगायत सबैको लगाव उत्तिकै हुन जरुरी छ । हरेक दिन केही समय निकालेर रुख विरुवा रोप्ने, गोडमेल गर्ने र शहरलाई सफा बनाउने प्रयास गर्ने हो भने काठमाडौंले आफ्नो पुरानो ख्यातिमात्र फर्काउने निश्चित छ । यसो भए काठमाडौं सबैभन्दा प्रदूषित शहर नभइ सबैभन्दा चित्ताकर्षक र स्वच्छ शहरको रुपमा आफूलाई चिनाउन पनि सक्छ ।

Logo