त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रबाट बुधबार बरामद गरिएको सुन १५५ केजी रहेको खुलेको छ ।
बिहीबार दिउँसाे बबरमहलस्थित टक्सार महाशाखामा जोख्दा सुन १५५ केजी रहेको पाइएको हो । राजश्व अनुसन्धान कार्यालयका कर्मचारी र सशस्त्र प्रहरी बलले ८ वटा पोकामा १६० ढिक्का सुन नापजाँचका लागि महाशाखामा लगेका थिए । तर, उक्त सुन जोख्ने क्रममा बेरिएको कपडा, कार्टुन, ब्रेक सु पनि समावेश छ । ती सबै फाल्दा भने सुनको तौल केही घट्नेछ ।
स्राेतका अनुसार अहिले सुनको पोका जोखेर नेपाल राष्ट्र बैंकको मुद्रण व्यवस्थापन विभाग मातहतको टक्सार महाशाखाको ढुकुटीमा राखिएको छ । मुचुल्का उठाएर सुन ढुकुटीमा राखिएको हो । राजस्व अनुसन्धान विभागले केन्द्रिय बैंकलाई वास्तविक सुनको तौल निकाल्दिन आग्रह गरेपछि मात्रै त्यसको प्रक्रिया अघि बढ्ने बताइएको छ ।
क्याथे फ्यासिफिकको उडानमार्फत हङकङबाट स्कुटर र मोटरसाइकल ‘ब्रेक सु’मा लुकाएर ल्याइएको उक्त परिणामकाे सुन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाट पार गरेर सिनामंगल सडकसम्म पुर्याइए पछि बरामद भएको थियो । राजस्व अनुसन्धान विभागको टोलीले उक्त सुन बरामद गरेको हो ।
भन्सार कार्यालयले निर्वाध रूपमा सुन पास गरिएको थियो । तर, उक्त जाँचपास शंकास्पद रहेको सूचनाका आधारमा राजस्व अनुसन्धान विभागको टोली विमानस्थल पुगेको थियो । जाँचपासपछि सुन लिएर बा. २ ज २३२४ नम्बरको ट्याक्सीबाट बाहिरिएकालाई सिनामंगलमा समातिएकाे हाे ।
सुन तस्करीमा संलग्न रहेको आशंकामा रेडी ट्रेडर्स प्रालिका सञ्चालक दिलीप भुजेल, भन्सार एजेन्ट राजेन्द्र राईसहित रामकुमार भुजेल,हर्क राई,अशोक लामासहित पक्राउ परिसकेका छन्। यस प्रकरणमा भन्सार विभागले पनि छानबिन थालिसकेको छ।































प्रतिक्रिया