पहिरोले बेँसी सहर-चामे सडक पुनः अवरुद्ध

पहिरोले बेँसी सहर-चामे सडक पुनः अवरुद्ध

केन्द्रबिन्दु
0
Shares

पहिरोले बेँसी सहर-चामे सडक पुनः अवरुद्ध भएको छ। आज बिहान लमजुङ र मनाङ जोड्ने  यस सडकखण्डअन्तर्गत खरखरेभिर, हवाईडाँडा, बक्स कटिङ र च्याम्चेमा गएको पहिराले सडक पुनः अवरुद्ध भएको डुम्रे-बेँसीसहर–चामे सडक योजना कार्यालयले जनाएको छ । 

कार्यालयका सूचना अधिकारी एवं इन्जिनियर पुरुषोत्तम अधिकारीले भने, “यस सडक अन्तर्गतअन्तर्गत बेँसीसहर नगरपालिका वडा नं ६ खरखरेभिर, मस्र्याङ्दी गाउँपालिका वडा नं ४ स्थित तीन ठाउँमा पहिरो गएको छ।” उक्त पहिरोमध्ये हवाईडाँडामा ठूलो पहिरो गएको उनको भनाइ छ।

सो स्थानमा ठूला-ठूला ढुङ्गासहितको पहिराले सडक अवरुद्ध बनाएको छ । केही ठाउँमा सडक खुलाउने प्रयास भए पनि समय लाग्ने भएको छ। सडक अवरुद्ध भएसँगै सवारीसाधन सञ्चालन हुन नसक्दा यात्रु अलपत्र परेका छन्। यसअघि गत आइतबारसमेत नासों गाउँपालिका-१ तालडाँडामा पहिराले सडक अवरुद्ध बनाएको थियो। 

त्यस्तै छ दिनअघिसमेत यस सडकको विभिन्न स्थानमा पहिराले सडक अवरुद्ध बनाएको थियो । यसरी पटक–पटक सडक अवरुद्ध हुँदा जिल्लाको उत्तरी भेगका स्थानीय र मनाङवासीलाई मर्का पर्दै आएको छ।

सडक सञ्चालनमा आएको वर्षौँ भए पनि सडक गुणस्तरीय बन्न नसक्दा थप जीर्ण र जोखिम रहँदै गएको यात्रुहरूले बताएका छन् । पैसठ्ठी किलोमिटरको यस सडक लमजुङतर्फ ३५ र मनाङतर्फ ३० किमी रहेको छ ।

Logo