लमजुङको बेसीशहर नगरपालिका वडा नं १० मा पर्ने भाचोक खोलामा निर्माण गरिएको अस्थायी काठे पुल डेढ महिना नबित्दै भत्किएको छ। बर्खामा खोला बढेर समस्या भएपछि बासिन्दालाई सहज होस भनि बनाइएको काठको अस्थायी पुल गए राती परेको वर्षाका कारण खोलामा बहाब बढेपछि पुल भत्किएको हो।
स्थानीयका अनुसार पुल भत्किएसँगै सवारीसाधन आवतजावत ठप्प भएपछि आवातजातमा समस्या परेको छ। गत असारको पहिलो साता आएको बाढीले पूल बगाएपछि यातायात सम्पर्क विच्छेद भएको थियो।
वर्षातका बेला खोलामा पुल नभएपछि सवारी साधान चल्न सकेनका थिएनन भने स्थानीय बासीन्दा जोखिम मोलेर खोला तर्न बाध्य भएका थिए। त्यसपछि स्थानीयले करिब एक महिनाको प्रयासमा साउन दोस्रो साता अस्थायी काठको पूलको निर्माण गरेका थिए।
स्थानीय बासीन्दाले श्रमदान र चन्दा संकलन गरी पुल निर्माण गरेका थिए। उनीहरूको प्रयासमा वडा कार्यालय,बेसीशहर नगरपालिका, नेपाल प्रहरी, सशस्त्र प्रहरी, डुम्रे बेसीशहर चामे सडक योजना समेतले सहयोग गरेका थिए।
त्यस्तै बेसीशहर नगरपालिकाले बिपद कोषबाट पुलको जग बनाउन आवश्यक रड, सिमेन्ट र एक्साभेटरका लागि चाहिने इन्धनमा सहयोग गरेको थियो भने वडा नं. १० का विभिन्न गाउँका स्थानीयले श्रमदान गरेका थिए। केहि समय आवत जावतमा सहज भएपनि बनेको डेढ महिना नवित्दै अहिले पुल भत्किएको हो।
पुलका लागि चाहिने काठ वन कार्यालयसँगको समन्वयमा गाउँकै सामुदायिक वनले उपलव्ध गराएको थियो भने श्रमदान र सम्बन्धित निकायको सहयोगबाहेक पुल निर्माणमा ३ लाख बढी खर्च भएको स्थानीयले बताएका छन्।
भाचोक खोला सडक बेसीशहर–चामे सडकको बैकल्पिक मार्ग पनि हो। बेसीशहर ६ मा पर्ने खरखरे भीरमा पहिरो जाँदा बेसीशहरबाट बाँझाखेत, भाचोकबेसी,लेतेफाँट, माथिल्लो मर्स्याङ्दीको पावर हाउस हुँदै सुरूङमार्गमा यो सडक जोडिन्छ।
खहरे खोलामा बर्खाको बेला जुनसुकै समयमा बाढी आउन सक्ने सम्भावनालाई मध्यनजर नगरी साघुँरो किसिमले पुल निर्माण गर्दा यो समस्या आएको प्राविधिकहरु बताउँछन्।
साे पुल नहुँदा खासुर, खासुरबेसी, देउजनथोक, पांग्रेक्यू, खाँचे, कुप्लिङ, गाउँ भाचोक, सिरूवारी, भाचोकबेसी लगायतका स्थानका स्थानीय ठूलो समस्यामा परेका छन्।





























प्रतिक्रिया