सूचना प्रविधिको पहुँच भन्दा टाढा छ निसेलढोर

सूचना प्रविधिको पहुँच भन्दा टाढा छ निसेलढोर

केन्द्रबिन्दु
0
Shares

बागलुङको निसेलढोर अहिले पनि सूचना प्रविधिको पहुँचभन्दा धेरै टाढा छ।

निसेलढोरमा बस्ने केही नागरिकले सूचना थाहा पाउनका लागि रेडियो प्रयोग त गर्छन् तर त्यति प्रभावकारी भने बन्न सकेको छैन। गाउँमै भएको घटना पनि स्थानीय केही दिनपछि मात्रै थाहा पाउँछन्।

प्राकृतिकरुपमा सुन्दरताले भरिएको निसेलढोरमा हरेक वर्ष विदेशी पर्यटक आउने गर्छन्। नेपालको एकमात्रै सिकार आरक्ष ढोरपाटन क्षेत्रमा पर्ने निसेलढोरमा टेलिफोन, इन्टरनेट तथा अन्य प्रविधि पुगेको छैन।

यसका कारण यहाँका सयौँ नागरिकले टाढा-टाढाको सूचना थाहा पाउन सक्दैनन्। विद्युत्को पहुँचसमेत नपुग्दा टुकी र दियालोकै भरमा स्थानीयले रात बिताउँदै आएका छन्। 

जिल्लाकै उत्कृष्ट पर्यटकीय गन्तव्य मानिने निसेलढोरमा अहिलेसम्म विद्युत् र सूचना सञ्चारविहीन हुँदा आगन्तुक र स्थानीयले सास्ती खेप्नुपरेको छ। निसीखोला गाउँपालिका-५ मा पनि निसेलढोर क्षेत्रलाई विद्युत् र सूचना प्रविधिले जोड्नतर्फ सरोकारवाला निकायले ध्यान नदिएको स्थानीयको गुनासो छ।

यहाँ कोहीले मोबाइल चलाउन चाहे पनि ‘चार्ज’ गर्नका लागि विद्युत् र फोन तथा सामाजिक सञ्जाल चलाउन इन्टरनेट अभाव छ। एक दशक अगाडिसम्म उत्तरगङ्गा ढोरपाटन क्षेत्रमा पनि इन्टरनेटको सुविधा थिएन। नेपाल टेलिकमले टावर राखेपछि अहिले ढोरपाटन क्षेत्र भने सञ्चारसँग जोडिएको छ। 

निसेलढोरमा खास गरी निसीखोला गाउँपालिका-५ निसीका स्थानीय बस्ने गर्छन्। पहिले-पहिले बर्खाको समयमा मात्रै बस्ने गरे पनि सडकले निसेलढोर जोडिएपछि स्थायीरुपमा धेरै नागरिक यहाँ बसोबास गर्दै आएका छन्। फोनले काम नगर्दा अन्य ठाउँमा हुने घटना महिनाैँपछि थाहा पाउने स्थानीय रनबहादुर घर्ती मगरले बताए। 

उनले निसी गाउँ झर्दा नेटले काम गरेर सूचना आदानप्रदान गर्न पाए पनि निसेलढोरमा बस्दासम्म बाहिरी सूचना थाहा पाउन नसक्ने बताए। सरकारले विद्युत् र टावरको व्यवस्था गरी दिएर निसेलढोरमै फोन चलाउन पाइने र सूचना आदानप्रदान गर्न सहज हुने घर्ती मगरले बताए। फोनले काम नगर्दा आफूहरुले धेरै समस्या भोग्नुपरेको उनि बताउँछन्।

“निसेलढोरमा फोनले काम गर्दैन, बिजुली पनि छैन, बेसी झर्दा त मोबाइल चाँर्ज गर्न सकिन्छ, आफन्तसँग फोनमा कुराकानी पनि हुन्छ तर निसेलढोरमा त्यो सुविधा छैन,  तल गाउँमा केही घटना भयो भने महिनौँपछि बल्ल थाहा पाइन्छ”, उनले भने, “देश विदेशको खबर सुन्न रेडियो राखेको बेटारी (ब्याट्री) सकिहाल्छ, बिजुली छैन, त्यति राम्रोसँग टिप्दा पनि टिप्दैन, निसेलढोरमा केही घटना भएर प्रहरी र तल बेसीका अरु गाउँलेलाई जानकारी गराउन धेरै समय लाग्छ।”

निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्ती मगरले जिल्लाकै सबैभन्दा विकट हुँदा अहिलेसम्म इन्टरनेटको व्यवस्थापन गर्न नसकिएको बताए। निसेलढोरलाई विद्युत् र इन्टरनेटसँग जोड्नका लागि विभिन्न निकायसँग सहकार्य भइरहेको उनको भनाइ छ।

अहिले निसेलढोरमा टेलिफोन सेवा सञ्चालनका लागि टावर निर्माणका काम सुरु भएको उनको भनाइ छ। निसीखोला गाउँपालिका-६ को चौरीभुजुङ्गीमा नेपाल टेलिकमले टावर निर्माण गरिरहेको अध्यक्ष घर्ती मगरले जानकारी दिए।

“निसेलढोर पहिलेदेखिनै राज्यको नजरमा पर्न सकेन, शिकार आरक्ष क्षेत्र पनि यहाँ पर्छ, धेरै विदेशी शिकारी पनि आउँछन्, तर अहिलेसम्म यहाँ विद्युत् र सञ्चारको पहुँच पुगेको छैन, यहाँका धेरै नागरिक विद्युत् र सञ्चारबाट वञ्चित छन्”, उनले भने, “फोनका लागि टावर निर्माण हुँदैछ, विद्युत् ल्याउनका लागि पहल गरी राखेका छौँ, फोन भए पनि चलाउन पाए भने सूचना आदानप्रदानमा थोरै भए पनि सहज हुनेछ।”

नेपाल टेलिकम बागलुङका प्रमुख केशव शर्माले निसेलढोरलाई लक्षित गरी मोबाइल टावर निर्माण गर्न थालेको बताए। अहिलेसम्म सञ्चारको पहुँबाट बाहिर रहेका निसेलढोरवासीलाई सञ्चारसँग जोड्ने तीन हजार सात सय ३० मिटरको उचाइमा टावर निर्माण सुरु भएको प्रमुख शर्माले बताए। 

टावर उच्च स्थानमा राख्न थालेको हुँदा यहाँ विद्युत्को पहुँच नभएको भन्दै सोलारमार्फत टावर सञ्चालन गर्ने उनको भनाइ छ। यस स्थानमा फोरजी चल्ने गरी टावर निर्माण भइरहेको शर्माले बताए।

Logo