अर्बभन्दा बढी खर्च भइसक्दा पनि बनेन चक्रपथ

अर्बभन्दा बढी खर्च भइसक्दा पनि बनेन चक्रपथ

केन्द्रबिन्दु
0
Shares

निर्माण सुरु भएको अढाइ दशक बितिसक्दा पनि कोशी प्रदेशको राजधानी विराटनगरको चक्रपथ पूरा हुन सकेको छैन।

विराटनगर महानगरपालिका र आसापास जोडिएका गाउँपालिकाहरुलाई जोड्ने सो सडक निर्माण पूरा नहुँदा हालसम्म गरिएको लगानी पनि खेर जाने अवस्था आएको छ।

२०५४ सालमा शिलान्यास भएको चक्रपथमा हिँड्ने विराटनगरवासीको सपना २५ वर्ष बितिसक्दा पनि पूरा हुन नसकेको छैन। ४२ किलोमिटर लम्बाइको चक्रपथ हरेक निर्वाचनमा राजनैतिक दलहरूको चुनावी एजेन्डा हुने गरेको छ।

तर निर्माणको काम भने लामो समयदेखि अवरुद्ध छ। योजनाको नाममा अहिलेसम्म करिब एक अर्ब रुपैयाँभन्दा बढी खर्च भइसक्दा पनि मुआब्जा वितरण र जग्गा प्राप्तिमै अलमल देखिएको छ। 

सडक निर्माण चाँडै सक्नका लागि स्थानीय जनप्रतिनिधिले सरोकारवाला निकायको ध्यानाकर्षण गराउँदै आएको बताएका छन्। प्रदेश सरकार र संघीय सरकारलाई पटक पटक पत्राचार गरी निर्माण कार्य पुनः सुरु गर्न भनिएको उनीहरुको भनाइ छ।

२०५४ मा परिकल्पना गरिएको ४२ किलोमिटर चक्रपथ योजना मोरङ निर्वाचन क्षेत्र नम्बर ४ र ६ मा पर्छ। २०७४ को प्रतिनिधिसभा निर्वाचनमा क्षेत्र नम्बर ४ मा तत्कालीन वाम गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका अमनलाल मोदी र काँग्रेसका महेश आचार्य तथा क्षेत्र नम्बर ६ मा एमालेका लालबाबु पण्डित र काँग्रेसका शेखर कोइरालाको चुनावी मुद्दामा चक्रपथ समेटिएको थियो। 

त्यस बेला क्षेत्र नम्बर ४ बाट मोदी र ६ बाट पण्डित निर्वाचित भएका थिए। हालैको आम निर्वाचनमा पनि विराटनगर चक्रपथले चुनावी एजेन्डा बन्ने मौका त पायो तर निर्माण निरन्तर अघि बढाउने नेताहरुको प्रतिबद्धता भने पूरा हुन सकेको छैन।

मसिना कन्सल्टेन्ट काठमाडौँले २०५४ मा तयार गरेको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) अनुसार सो योजना तत्कालीन कटहरी, भाथीगछ, हात्तीमुडा र झोराहाट गाविसलाई छुँदै विराटनगर महानगरलाई चारैतर्फबाट घेर्ने ४२ किलोमिटर लामो छ।

योजनाका लागि झोराहाटदेखि हात्तीमुडासम्मको करिब दुई किलोमिटर क्षेत्रमा मुआब्जा विवादका कारण जग्गा प्राप्ति नहुँदा समस्या भएको हो। निर्माण सुरुताका योजनाका लागि ४२ करोड ७० लाख ७७ हजार अनुमानित लागत इस्टिमेट तयार गरिएको थियो। चक्रपथ निर्माणमा ढिलाइले गर्दा समस्या भइरहेको भन्दै उद्योगी-व्यवसायीले पनि समयमै निर्माण कार्य सक्नुपर्नेमा जोड दिँदै आएका छन्। 

स्थानीय बासिन्दाले भने सडक बनाउने भनेर आफूहरुले जग्गा दिए पनि अझैसम्म बन्न नसक्दा निरास हुनुपरेको बताएका छन्। कतिपयले जग्गाको मुआब्जा पनि पाउन नसकेको चक्रपथ निर्माण क्षेत्रका बासिन्दा अनिल ठाकुरको गुनासो छ।

सुरुमा दुई लेनको चक्रपथ निर्माण गर्ने गुरु योजना तयार गरेर ४२ करोड ७० लाख ७७ हजारको लागतमा ट्रयाक खोल्ने र निर्माण कार्य सुरु गरिएको थियो। पछिल्लो समय प्रदेश सरकारको मातहतमा योजना सरेपछि चार लेनको निर्माण गर्ने गुरुयोजना तयार गरेर दुई अर्ब ५० करोड अनुमानित बजेट तोकिएको थियो। 

योजनाका लागि ट्रयाक खोल्ने र सडकको स्तरोन्नति गर्ने नाममा हालसम्म डिभिजन सडक कार्यालयले ३० करोड, सहरी विकास कार्यालयले ४० करोड, संघीय सरकारले १५ करोड, तत्कालीन विराटनगर उपमहानगरपालिकाले १० करोड खर्च गरेका छन्। 

विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला आफू सानै छँदा चक्रपथको कुरा सुने पनि अझैसम्म बन्न नसक्नु दुखद भएको बताउँछन्। निर्माण अघि बढाउने काम तीव्र रुपमा गर्नका लागि महानगरले सम्बन्धित निकायमा दबाब दिने उनको भनाइ छ।

पछिल्लो पटक प्रदेश सरकारको पूर्वाधार विकास कार्यालयले पाँच करोड रुपैयाँ विराटनगरको चक्रपथको नाममा खर्च गरिसकेको जनाइएको छ। २५ वर्षको अवधिमा ४२ किलोमिटरमध्ये ३७ किलोमिटरमा ट्रयाक खोल्ने, ग्राभेल गर्ने र त्यसमध्ये तीन किलोमिटरमा कालोपत्रे गर्ने काम भएको छ। त्यसका लागि टुक्राटुक्रा गरेर एक अर्बभन्दा बढी रकम खर्च भइसकेको छ।

Logo