आचार संहिता उल्लंघन गरेका पत्रकारलाई सम्झाउँदै प्रेस काउन्सिल

आचार संहिता उल्लंघन गरेका पत्रकारलाई सम्झाउँदै प्रेस काउन्सिल

केन्द्रबिन्दु
0
Shares

पत्रकार आचारसंहिता विपरित प्रस्तुत भएको भन्दै प्रेस काउन्सिल नेपालले एक टेलिभिजन पत्रकारलाई सोमबार सोधपुछ गरेको छ। एक सरकारी कार्यालयमा रिपोर्टिंग गर्ने क्रममा स्पेस फोके टिभिका पत्रकार कपिल शाहीले कर्मचारीलाई थर्काउने र अशिष्ट व्यवहार गरेका थिए। 

उक्त भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको थियो। रेल विभागका कर्मचारीमाथि जबर्जस्ती गरिएको उक्त भिडियोले पत्रकारिताको बेइज्जत भएको भन्दै कारवाही हुनुपर्ने आवाज समेत उठेको थियो। 

काउन्सिलले उक्त विवादास्पद कार्यक्रम सार्वजनिक गरेलगत्तै शाहीलाई कार्यालयमा बोलाएको थियो। उनी काठमाडौँ उपत्यका बाहिर भएकाले सोमबार उपस्थित भएका थिए। 
 
उनको प्रश्न सोध्ने शैली, प्रस्तुति, भाषाका सम्बन्धमा काउन्सिल पदाधिकारीले सम्झाएका थिए। काउन्सिल अध्यक्ष बालकृष्ण बस्नेतले हातमा बुम र क्यामेरा बोक्दैमा पत्रकारलाई सबै कुराको छुट् नहुने भन्दै मर्यादित र जिम्मेवार हुन सबैलाई आग्रह गर्दै आएका छन्। काउन्सिलले पछिल्लो समय अनलाईनमार्फत चल्ने टिभि र युट्युव च्यानललाई विशेष निगरानी गर्दै आएको छ। 

काउन्सिल समक्ष पत्रकार शाहीले आफूले गलत गरेको, आइन्दा नदोहोर्याउने भन्दै माफी मागेको काउन्सिल स्रोतले बतायो। छलफलमा उनलाई काउन्सिल अध्यक्ष बालकृष्ण बस्नेत, पत्रकार महासंघ अध्यक्ष विपुल पोखरेल, काउन्सिल सदस्य ठाकुर बेल्वासे, आचारसंहिता महाशाखा प्रमुख रामशरण बोहोरासहितले विभिन्न प्रश्न सोध्दै सचेत गराएका थिए। 

प्रेस काउन्सिलले यसअघि पनि आचारसंहिता उल्लंघन गरेको भन्दै पत्रकार ऋषि धमला, माधव तिवारीसहितलाई अनुशासनका विविध कारवाही गरिसकेको छ। कतिपय पत्रकारलाई काउन्स्लिले कार्यालयमै बोलाएर आचारसंहिता कक्षामा सहभागी गराउँदै आएको छ। जथाभावी लेख्ने, बार्गेनिंग गर्ने युट्युवसहितलाई काउन्सिलले प्रहरीसहितसँग समन्वय गरी विभिन्न कारवाही गर्दै आएको छ।

Logo