इप्पानको प्रमुख कार्यकारीमा भीम गौतम नियुक्त

इप्पानको प्रमुख कार्यकारीमा भीम गौतम नियुक्त

केन्द्रबिन्दु
0
Shares

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)को प्रमुख कार्यकारीमा भीमप्रसाद गौतम नियुक्त भएका छन्।

इप्पानले गौतमलाई बुधबार तीन वर्षका लागि प्रमुख कार्यकारीमा नियुक्त गरेको हो। इप्पान अध्यक्ष गणेश कार्कीले गौतमलाई प्रमुख कार्यकारीको रूपमा स्वागत गर्दै, गौतमको कार्यकालमा इप्पानले नयाँ उचाइ हासिल गर्ने विश्वास व्यक्त गरे।

इप्पानका नवनियुक्त प्रमुख कार्यकारी गौतमले पनि इप्पानलाई नयाँ उचाइ दिन आफूले शतप्रतिशत योगदान दिने बताए। काभ्रेपलाञ्चोकको बनेपाका गौतमसँग दुई दशक लामो पत्रकारिताको अनुभव छ भने पछिल्लो १५ वर्षदेखि ऊर्जा र पूर्वाधार क्षेत्रका विविध मुद्दामा कलम चलाउँदै आएका छन्।

नेपाल आर्थिक पत्रकार समाज (सेजन)का पूर्वअध्यक्षसमेत रहेका गौतम राजधानी दैनिक, सौर्य दैनिक, रेडियो नेपाल, इमेज च्यानल, नेपाल वान च्यानल, कारोबार दैनिक हुँदै पछिल्लो समय नेपाल पूर्वाधार डटकममा सम्पादकीय नेतृवमा थिए।

नयाँ बानेश्वरस्थित सेफर्ड कलेजमा पत्रकारिता अध्यापन गराउने गौतम अनुसन्धान गर्ने संस्था सिआरआई नेपालका कार्यकारी निर्देशकसमेत हुन्। उनले त्रिभुवन विश्वविद्यालयबाट पत्रकारिता विषयमै एमफिल गरेका छन्।

देशभरका चार सय ५० भन्दा बढी ऊर्जा उत्पादकहरू आबद्ध रहेको इप्पान ऊर्जा उद्यमीहरूको साझा संस्था हो। इप्पानमा आबद्ध संस्थामध्ये एक सय ६३ आयोजनाबाट एक हजार सात सय मेगावाट विद्युत् उत्पादन हुनुका साथै तीन हजार दुई मेगावाट क्षमताका एक सय ३६ आयोजना निर्माणाधीन र तीन हजार पाँच सय मेगावाट क्षमताका एक सय २६ आयोजना निर्माणमा जाने तयारीमा छन्।

क्षेत्रगत लगानीका हिसबाले सबैभन्दा धेरै लगानी भएको ऊर्जा क्षेत्रमा नेपालको निजी क्षेत्रबाट १३ खर्ब रुपैयाँ लगानी भइसकेको छ।

Skip This
Skip This
Logo