रुसी सेनामा गएका नेपाली युवालाई स्वदेश फर्काउन सरकारको पहल

रुसी सेनामा गएका नेपाली युवालाई स्वदेश फर्काउन सरकारको पहल

केन्द्रबिन्दु
0
Shares

नेपाल प्रहरीले एक साताअघि नेपाली युवालाई प्रलोभन देखाएर अवैध रुपमा रुस पठाउने गिरोहका १२ जनालाई काठमाडौँका विभिन्न स्थानबाट नियन्त्रणमा लियो । युक्रेनसँगको युद्धमा होमिएको रुसको राष्ट्रिय सेनामा भर्ती गराइदिने आश्वासन दिँदै उक्त गिरोहले युवासँग ठूलो रकम असुलेको प्रहरीले अनुसन्धानबाट खुलेको छ । 

‘भिजिट भिसा’मार्फत नेपालीलाई रुसको सेनामा भर्ना हुन पठाएको आरोपमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । सोही आरोपमा काठमाडौँका सन्तोष रोका र रोजल महर्जन, सिन्धुपाल्चोकका मनिष न्यौपाने, उदयपुरका हरिबहादुर विश्वकर्मा र क्षितिज गिरी, सिराहाका दीपेन परियार, काभ्रेपलाञ्चोकका सुवास लामा, चितवनका गोकर्ण अर्याल, बाराका सन्तोष नेपाल, ओखलढुङ्गाका सुजता दाहाल, लमजुङका ईश्वर अधिकारी र दाङ द्रोणा डाँगी प्रहरी अनुसन्धानमा छन् । 

उनीहरु नेपाली युवालाई भिजिट भिसामा दुबई तथा नेपालबाट सडकमार्गबाट भारत लगेर त्यहाँबाट रसिया पठाउने काममा संलग्न रहेको प्रहरीले जनाएको छ । उक्त गिरोहले प्रतिव्यक्ति रु सात लाखदेखि रु ११ लाखसम्म असुलेको प्रहरीको अनुसन्धानबाट थाहा खुलेको छ । नेपालमा सक्रिय गिरोहलाई रुसमा बस्ने नेपाली नागरिक शोभराज र अनुपले सहयोग गरेको भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी उपरीक्षक कुमोध ढुङ्गेल बताउँछन् । 

प्रहरीले रुसी सेनामा भर्ना गर्न भन्दै अन्तर्वार्ता सञ्चालन गर्ने केही शैक्षिक परामर्शदाता (कन्सल्टेन्सी) सञ्चालकलाई पनि नियन्त्रणमा लिएको छ । परम्परागत रुपमा रहेको सम्झौतअन्तर्गत केही मित्रराष्ट्रको राष्ट्रिय सेनामा नेपाली नागरिक भर्ना हुँदै आएकोमा बाहेक अन्य विदेशी सेनामा नेपाली नागरिक भर्ना हुन अनुमति दिने सरकारको नीति नरहेको सरकारले यसअघि नै स्पष्ट पारिसकेको छ । 

सरकारले नेपाली नागरिकलाई रुसी सेनामा भर्ना नगर्न र कुनै पनि नेपाली नागरिकलाई भर्ना गरेको भए त्यस्ता नागरिकलाई तत्काल नेपाल फर्काउन रुसी सरकारलाई अनुरोध गरिसकेको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रेस सल्लाहकार गोविन्द आचार्य बताउँछन् । सरकारले रुसी सेनामा भर्ना भई हाल युक्रेनमा बन्दी अवस्थामा रहेका नेपालीलाई स्वदेश फिर्ता गर्ने सम्बन्धमा समेत कूटनीतिक पहल गरिरहेको छ । 

“नेपाली युवालाई प्रलोभनमा पारी रुस पु-याउने गिरोहको खोजीमा सरकार लागेको छ, केही पक्राउ परेका छन्”, उनले भने, “सरकारले सार्वजनिक रुपमा नै युवालाई रुसी सेनामा भर्ना नहुन आग्रह गरिरहेको छ, सरकारी कामकाज, रुसको छात्रवृत्ति तथा पेशा व्यवसायमा संलग्न भएका बाहेक अन्यलाई रुस जान रोकिएको छ ।”

सरकारले कसैको प्रलोभनमा नपरी, युद्धरत मुलुकको सेनामा भर्ना नहुन सार्वजनिक रुपमा आह्वान गरिरहेको छ । 

Logo