राक्सिराङ्गमा रैथाने बाली संकलन तथा बिक्री केन्द्र स्थापना

राक्सिराङ्गमा रैथाने बाली संकलन तथा बिक्री केन्द्र स्थापना

केन्द्रबिन्दु
0
Shares

हेटौँडा। मकवानपुरको राक्सिराङ्ग गाउँपालिकामा हिमाली देवीटार कृषि सहकारी संस्थाले रैथाने बाली संकलन तथा बिक्री केन्द्र स्थापना गरेको छ। सहकारीले स्थानीय बालीको संरक्षण, उत्पादन र बजारीकरणमा किसानलाई सहयोग पुर्याउने उदेश्यले केन्द्र सञ्चालनमा ल्याएको हो।

मंगलबार संस्थाको चौँथो बार्षिक साधारण सभाको सन्दर्भमा गाउँपालिका अध्यक्ष राजकुमार मल्लले सो केन्द्रको उद्घाटन गरे। वडा नं. ८ मा रहेको सहकारीले गाउँघरमै उत्पादित रैथाने कृषि उपजहरुलाई बजारीकरण गर्ने कामको सुरुवात गरेको हो।

गाउँपालिका अध्यक्ष मल्लले केन्द्र सञ्चालनमा आएपछि बजारको समस्या नहुने भन्दै अब रैथाने बालीको उत्पादन बढाउन आग्रह गरे। ‘संकलन केन्द्रमा रैथाने कृषि सामाग्रीको कहिल्यै अभाव नहोस्। यहाँबाट बजारको व्यवस्थापनका लागि गाउँपालिका पनि तपाईंहरुको साथमा छ,’अध्यक्ष मल्लले भनेका छन्।

उनले गाउँपालिकाले कृषि बालीलाई संकलन गर्न कृषि एम्बुलेन्सको व्यवस्था गर्ने बताए। ‘लोप हुदैँ गएका रैथाने बालीहरुको संरक्षण र उत्पादन बृद्धि गर्न गाउँपालिकाले अनुदानको कार्यक्रम समेत बनाउनेछ, तपाईंहरु अब उत्पादनमा जोड दिनुहोस्,’ मल्लको भनाइ छ।

गाउँपालिकाले आर्थिक वर्ष २०७९-०८० मा विनियोजित बजेटमा ८ लाख रुपैयाँ बजेट छुट्याएर ३ कोठाको भवन निर्माण गरेको थियो। सहकारीले त्यही भवनमा केन्द्र सञ्चालन गरेको हो।

केन्द्रमा मकैको पिठो, गुन्द्रुक, चिउरीको पिना, घ्यु, वन तरुल, कोदोको पिठो, फापरको पिठो, तोरी, मास, मस्याङ, केरा, गहत, जुनेलो, डोको, मान्द्रो, तामा, पिडालु, सिमल तरुल लगायतका २० प्रकारका स्थानीय उत्पादनहरु बिक्रीका लागि राखिएको छ।

‘गाउँको रैथाने उत्पादन जुन अन्यत्र बजारमा पाउने अवस्था छैन, त्यस्ता लोपोन्मुख अग्र्यानिक कृषि उपजहरु संकलन गरेर हामीले एकैठाउँमा राखेका छौँ,’ सहकारीका अध्यक्ष राजकुमार स्याङ्तानले भने,‘यसले किसानलाई पनि थोरै थोरै उत्पादन गरेको सामाग्री बिक्री गर्न सजिलो हुन्छ, उपभोक्तालाई पनि सबै चीज एकै ठाउँमा पाइने हुँदा सजिलो हुन्छ।’ उनले मौलिक उत्पादनलाई ठूला बजारहरुसम्म पनि पुर्याउने लक्ष्य रहेको बताए।

Skip This
Skip This
Logo