विश्वासको मत लिनुअघि नै गठबन्धनमा भनाभन, रास्वपाले डाक्यो बैठक[भिडियाेसहित]

विश्वासको मत लिनुअघि नै गठबन्धनमा भनाभन, रास्वपाले डाक्यो बैठक[भिडियाेसहित]

केन्द्रबिन्दु
126
Shares

प्रधानमन्त्री ‘प्रचण्ड’ ले फागुन ३० विश्वासको मत लिने
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले फागुन ३० मा विश्वासको मत लिने तयारी गरेका छन् । फागुन २२ गते कांग्रेससँगको सत्ता सहकार्य तोडेर एमाले र रास्वपालाई सरकारमा भित्र्याएका प्रचण्डले फागुन ३० मा विश्वासको मत लिने तयारी गरेका हुन् । कांग्रेसले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिनुपरेको हो । संविधानबमोजिम सरकारमा सहभागी भएको दलले समर्थन फिर्ता लिएको ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने प्रावधान छ । सत्तारूढ गठबन्धनमा एमालेका ७७, माओवादीका ३२, रास्वपाका २१, जसपाका १२ र एकीकृत समाजवादीका १० गरी १५१ सांसद छन् । २७५ सदस्यीय प्रतिनिधिसभामा बहुमतका लागि १३८ सांसदको समर्थन चाहिन्छ ।

कांग्रेसले राष्ट्रियसभा अध्यक्षमा उम्मेदवारी दिने
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रियसभा अध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको छ । पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा आज बसेको पार्टीका पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकले आसन्न राष्ट्रियसभा अध्यक्ष निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार दिने निर्णय गरेको हो । तर, कसलाई उम्मेदवार बनाउने भन्नेबारे भने निर्णय लिइएको छैन। यसअघिको गठबन्धनमा कांग्रेसका नेता कृष्ण प्रसाद सिटौला उम्मेदवार बन्ने करिब निश्चित जस्तै मानिएको थियो । तर प्रधानमन्त्री प्रचण्डले अचानक गठबन्धन परिवर्तन गरेपछि पुरानो तयारी भंग भएको छ ।

सोमबार राष्ट्रिय स्वतन्त्र पार्टीले बोलायो केन्द्रीय समितिको बैठक
राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले अगामी सोमबार केन्द्रीय समितिको बैठक बोलाएको छ । आगामी वैशाख १५ मा हुने उपनिर्वाचन र उम्मेदवारका विषयमा छलफल गर्न बैठक सोमबार पार्टी केन्द्रीय कार्यालय बालाजुमा बस्ने भएको छ । सत्ता समीकरण फेरबदलपछि रास्वपा सरकारमा सहभागी छ । नयाँ गठबन्धनमा मन्त्रालय भागबण्डा गरेर सरकारमा गएपछि एक्लाएक्लै उम्मेदवारी दिएर पार्टी निर्वाचनमा सहभागी हुने नहुने भन्नेमा अन्योल छ ।

व्यवस्था परिवर्तन भयो तर अवस्था परिवर्तन भएनः ओली
एमाले अध्यक्ष केपी शर्मा ओलीले व्यवस्था परिवर्तन भयो तर अवस्था परिवर्तन भएन भन्ने कुरा गलत भएको बताएका छन् । शनिबार एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले अवस्थामा पनि परिवर्तन आएको दाबी गरेका हुन् । अहिले ४० प्रतिशतको हाराहारीमा महिला जनप्रतिनिधिहरु रहेको उल्लेख गर्दै विगतमा त्यस्तो थियो भनी प्रश्न पनि उनले गरे ।

नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेशबाट आफ्ना मन्त्रीहरूलाई फिर्ता बोलायो
नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम सरकारमा सहभागी भएका आफ्ना मन्त्रीहरूलाई फिर्ता बोलाएको छ । शुक्रबार राति मुख्यमन्त्री कमलबहादुर शाहले नाउपाका मन्त्रीहरूलाई सरकारमा सहभागी गराएर शपथ खुवाएका थिए । तर, सरकारमा जाने नजाने बारेमा पार्टी अध्यक्षसँग कुनै छलफल नै नगरी अल्पमतमा परेका मुख्यमन्त्री कमलबहादुर शाहले असमावेशी ढंगले सुदूरपश्चिम प्रदेश सरकार विस्तार गरेकाले नाउपाकी अध्यक्ष रञ्जिता श्रेष्ठले आफ्ना मन्त्रीलाई फिर्ता बोलाएकी हुन् र निर्देशन कार्यान्वयन नगरे कारबाही गर्ने उनको चेतावनी छ ।

एमाले–माओवादी नेतृत्वको सरकारको आयु एक महिनाः मेटमणि चौधरी
नेकपा (एकीकृत समाजवादी) का प्रमुख सचेतक मेटमणि चौधरीले एमाले–माओवादी नेतृत्वको सरकारको आयु एक महिना पनि नरहेको दाबी गरेका छन् । शनिबार एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यो सरकार बेठीक नियतका साथ बनेको आरोप लगाएका छन् । यसको आयु लामो नरहेको दाबी गरेका हुन् । प्रचण्ड केपी ओलीभन्दा पनि गलत र अस्थिर सिद्ध भएको उनले बताएका छन् ।

मधेश प्रदेशका मुख्यमन्त्री सरकार पुनर्गठनको तयारी
मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव सरकार पुनर्गठनको तयारीमा जुटेका छन् । केन्द्रमा सत्ता समीकरण बदलिएकापछि मुख्यमन्त्री यादव सरकार पुनर्गठन गर्नेतर्फ लागेका हुन् ।नयाँ समीकरणअनुसार नेकपा एमाले सरकारमा सहभागी हुनेछ भने नेपाली कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाहिरिनेछन् । कांग्रेस र लोसपाका मन्त्रीहरुले राजीनामा नदिए मुख्यमन्त्रीले बर्खास्त गनैै जानकी प्रात्त भएको छ ।

होटेल सञ्चालन गर्दै आएकी एक महिलाको हत्या
सिरहाको गोलबजारमा होटेल सञ्चालन गर्दै आएकी एक महिलाको आफ्नै घरभित्र हत्या गरिएको अवस्थामा शव फेला परेको छ । ढुंगा र धारिलो हतियार प्रयोग गरी हत्या गरिएको अवस्थामा गोलबजार नगरपालिका‐६ का महेन्द्रकुमार साहकी श्रीमती ३२ वर्षीया अनिताकुमारी साहको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।घटनामा संलग्न भएको आशंकामा चारजनालाई नियन्त्रणमा लिइएको छ ।

कास्की जिल्लाको पर्चेमा भूकम्प गयो
आज कास्की जिल्लाको पर्चे केन्द्रविन्दू भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ७ बजेर ३० मिनेट जाँदा पर्चे आसपास केन्द्रविन्दु भएर चार रेक्टरस्केलको भूकम्प गएको हो । पछिल्लो समय नेपालको पूर्वी तथा पश्चिम क्षेत्रमा भूकम्प जाने क्रम जारी छ । नेपालको हिमालय क्षेत्रलाई भूकम्पको जोखिमको क्षेत्रका रुपमा लिने गरिन्छ ।

एलन मस्कले युट्यूबलाई टक्कर दिन नयाँ भिडियो एप ल्याउने
सामाजिक सञ्जाल एक्स प्रमुख कार्यकारी एलन मस्कले युट्यूबलाई टक्कर दिन नयाँ भिडियो एप ल्याउने घोषणा गरेका छन् । मस्कले आगामी हप्ता नै अमेजन र सामसङका लागि भिडियो एप ल्याउने घोषणा गरेका हुन् । गत अक्टोबरमै एक्सले केही प्रयोगकर्ताका लागि भिडियो र अडियो कलको सुविधा ल्याएको थियो । मस्कले स्मार्ट टिभीबाट लामो भिडियो सिधै हेर्न मिल्ने एप ल्याउन लागिएको जनाएका हुन् ।

हङकङसँग नेपाल स्तब्ध
हङकङसँगको एकमात्र टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल ७३ रनमा स्तब्ध भएको छ ।हङकङले दिएको २ सय १३ रनको लक्ष्य पछ्याएको नेपाल १६ ओभर ४ बलमा १ सय ३९ रन बनाउँदा अल आउट भयो । १ सय १७ रन बनाउँदा ३ विकेट गुमाएको नेपालले त्यसपछि २२ रन जोड्दा बाँकी ७ विकेट गुमायो । नेपाल, हङकङ र पपुवा न्युगिनीबीच भोलिदेखि त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खला शुरु हुँदैछ । त्यसअघि नेपालले आज हङकङसँग एकमात्र खेलको फ्रेन्डशिप कप खेलेको हो । तर, नेपालको बलिङ र ब्याटिङ भने सुध्रिएन ।

Logo